प्रचण्डको भनाईप्रति एमालेको आपत्ति : सडकमा झैँ संसद्‍मा नानाथरी बोल्ने?

|

काठमाडौँ : नेकपा एमालेले संसदमा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले बजार हल्लाको भरमा सडकमा बोलेजसरी अनेकथरी आरोप लगाएको भन्दै एमाले सांसद पदम गिरीले प्रचण्डको अभिव्यक्तिप्रति खेद प्रकटमात्र गरेनन् उनले जनयुद्धका वेला बैैंक लुटेको पैसा लसभेगसको जुवाघरमा लगानी गरेको आफूले सामाजिक सञ्जालमा पढेको र त्यसैको भरमा प्रचण्डविरुद्ध संसदीय छानबिन माग गर्नु उचित हुन्छ भनेर प्रश्नसमेत गरे। 

आइतवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा गिरीले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे छानबिन गर्नुपर्ने भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन्।

उनले आफूले पनि लडाकु शिविरमा घोटाला गरिएको पैसा दुबईको बैंकमा लगानी गरिएको सुनेको भन्दै त्यसैको भरमा संसदीय छानबिन माग गर्नु कति उचित हुन्छ भन्दै प्रश्न गरे। 

‘प्रतिपक्षी दलको नेताले सदनमा आएर सडकमा बोलेजस्तो बोल्नुभयो’, उनले भने, ‘प्रधानमन्त्रीको कम्बोडियामा लगानी छ भनेर बजारको विषयलाई लिएर संसदमा छानबिनको माग गर्नुभयो। लडाकु शिविरमा घोटाला गरिएको पैसा दुबईको बैंकमा लगानी गरिएको भनेर सुनेको छु‚’ उनले भने‚ ‘जनयुद्धको बेला बैंक लुटेको पैसा अमेरिकाको लसभेगसको जुवाघरमा लगानी गरिएको छ भनेर सामाजिक सञ्जालहरूमा पढेको छु। अब के प्रमुख प्रतिपक्षी दलका नेताको लगानी छ भनेर संसदीय छानबिन गर्ने?’

सांसद गिरीले सरकारले हालै ल्याएका अध्यादेशको बचाउ गर्दै यसलाई लिएर जनता खुसी भएको जिकिर पनि गरे। उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको भन्दै प्रचण्डलाई प्रश्न गरे। ​

'अध्यादेशले देशवासी खुशी भएका छन्', उनले दावी गरे, ‘अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.