|

चीनको हार्बिनमा भइरहेको नवौँ शीतकालीन एशियाली खेलकुदमा नेपाली खेलाडीले शनिवार सन्तोषजनक प्रदर्शन गरेका छन्।

प्रतियोगितामा नेपालका तर्फबाट कुल ४ जना खेलाडीको सहभागिता रहेको छ। त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये २९औँ स्थानमा आएका छन्।

उनले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे। त्यसमा कुल ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। रन–टुमा २ खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप ४ खेलाडी छनोट भएनन्।

यस्तै रन–वन ११ खेलाडीले पूरा गर्न सकेनन्। त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे। रन–वनमा अन्य २ खेलाडी छनोट हुन सकेनन्। महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन्।

त्यसमध्ये देबोरा तिमल्सिना ३४औँ र लक्ष्मी राई ३५औँ स्थानमा रहिन्। देबोराले दुवै रन ३ मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन्। लक्ष्मीले ३ मिनेट २२.१३ सेकेन्डको समय निकालिन्। स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेका थिए।

उनीहरूको पछाडि रन–टु पूरा नगर्ने ३ र रन–टुमा छनोट हुन नसक्ने ३ खेलाडी रहे। रन–वनमा भने २ खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने २ खेलाडी छनोट नै हुन सकेनन्।

यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला ५ किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडीलाई पदक वितरण गरे। श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एशिया (ओसीए) को ओसीए स्पोर्टस एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.