|

हेटौँडा : हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ। मंगलवार उपमहानगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन १ गते हेटौँडालाई बालमैत्री घोषणा लागिएको जानकारी गराइएको हो। 

पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेसँगै हेटौँडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको बताइन्। 

बालमैत्री घोषणा कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा गरिने जानकारी उनले दिइन्।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौँडाको सबै वडा बालमैत्री घोषित भइसकेको बताउँदै उनले भनिन्, ‘हेटौँडाको १९ वटै वडा बालमैत्री घोषित भएसँगै उपमहानगरपाकिालाई पनि बालमैत्री घोषणा गर्न लागिएको हो।’

बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समिति संयोजकसमेत रहेकी उनले बालमैत्री घोषणा गर्न हेटौँडा उपमहानगरका वडाहरूमा विभिन्न संरचना बनाएको बताइन्। 

हेटौँडालाई बालमैत्री बनाउन विभिन्न चुनौती रहेको र स्थानीय तहलाई बालमैत्री घोषणा गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती रहेको उल्लेख गरिन्।

बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौँडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सय प्रतिशत र बाँकी सूचकमा क्रमशः ९९ दशमलव ९४ प्रतिशत, ९९ दशमलव ८९ प्रतिशत, ९९ दशमलव ८७ प्रतिशत, ९९ प्रतिशत, ९८ दशमलव ६३ प्रतिशत, ९६ दशमलव ८४ प्रतिशत, ९१ प्रतिशत तथा ८८ दशमलव ०६ प्रतिशत नजिता हासिल भएको जानकारी उनले दिइन्।

पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सिराङ गाउँपालिका, उत्तरमा मकवानपुरगढी, भीमफेदी, कैलाश गाउँपालिका र दक्षिणतर्फ मधेश प्रदेशको उत्तरी सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिकाको कुल क्षेत्रफल २६१ दशमलव ५८ वर्ग किलोमिटर रहेको छ।

पालिकामा १८ वर्षभन्दा मुनिको उमेर समूहका ५० हजार १९५ जनसंख्या रहेको छ। जसमध्ये २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् अर्थात ५२ दशमलव ८ प्रतिशत बालक र ४७ दशमलव ९१ प्रतिशत बालिका रहेका छन्।

उपमहानगरपालिकामा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील छन्। 

ती विभिन्न संरचनाका समितिहरु समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.