काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन्।
मंगलवार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अदालतहरुभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरुले समयमै न्याय निरुपण गर्ने गरेको बताए।
उनले काठमाडौँ महानगरको न्यायिक समितिबाट अदालतसमेत छिटो न्याय निरुपण गर्न प्रेरित हुने विश्वास व्यक्त गरे।
‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय समयमै पाउन निकै गाह्रो छ। स्थानीय सरकार घरनजिकको सरकार भएको हुनाले छिटो न्याय पाइन्छ भनेर नेपाली जनता हाम्रो समितिमा आइदिनुभयो‚’ उनले भने, ‘जसरी यहाँ न्याय निरुपण हुन्छ, जनताले न्याय पाउँछन् त्यसैगरी अदालतहरुबाट पनि न्याय पाइयोस्।’
न्यायिक समिति संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाई गरी न्याय निरुपण गरिएको जानकारी दिइन्।
उनले कुल ६०८ वटा विवाद निरुपण हुँदा ३२६ वटा विवादमा निर्णय भएको र बाँकी १४१ विवाद मेलमिलापबाट समाधान भएको उल्लेख गरिन्।
उनले १३२ निर्णयउपर पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिएको र १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको बताइन्।
महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको समेत उनले बताइन्। चालू आवको यस अवधिमा नै ६ हजार ८४७ जनाले सेवा प्राप्त गरेको जानकारी उनले दिइन्।
उनले पैसा नभएका कारण न्यायमा पहुँच नहुने अवस्थाका महानगरवासीलाई महानगरपालिकाले कानुन व्यवसायीबाट निःशुल्क कानुनी सेवा उपलब्ध गराउने गरेको जानकारी दिइन्।
यसको खर्च महानगरपालिकाले बेहोर्ने गरेको छ। यो सेवा २०८० चैत १८ गते शुरु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।