|

काठमाडौं : एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै छ। 

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन आज विधिपूर्वक समापन गर्न लागिएको हो। 

पौष शुक्ल पूर्णिमामा विधिपूर्वक व्रत शुरु गरी नित्य मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको कुमार र अगस्त्यबीच भएको संवाद स्वस्थानी कथा पनि आजै समापन गरिँदैछ। 

विधिपूर्वक एक महिने व्रत गरेका व्रतालुले आज १०८ को संख्यामा जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने गर्छन्। 

चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउनेविधि छ । सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसेर देवीको माहत्म्य सुन्ने-सुनाउने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। 

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमामा शुरु भएको माधवनारायण मेला पनि आजै समापन गरिँदैछ। मेलामा करिब २०० महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.