बुटवल : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य मान्यतामा कुनै सम्झौता नहुने बताएका छन्।
बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यतामा सम्झौता नगर्ने बताए।
उनले वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताए। उनले सरकार बनाउने कुरामा अरूसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ।
थापाले भने, ‘नेपाली काँग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ। हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौँ। यसको विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो? हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ। विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यताका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ती कुरा नेपाली काँग्रेसका लागि सरकारभन्दा महत्त्वपूर्ण कुरा हो। यसमा काँग्रेस स्पष्ट छ। विश्वास छ‚ एमाले पनि यसमा स्पष्ट छ।’
सरकार गठन हुँदाका बखत गरिएको सातबुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।