रिपोट पाउन पनि २-३ महिना कुर्नुपर्ने
रिपोट पाउन पनि २-३ महिना कुर्नुपर्ने
काठमाडौँ : केही दिनअघि प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद शान्ति विकले नेपालमा पछिल्लो समय डिएनए परीक्षण गर्नका लागि नागरिकले ज्यादै दुःख पाएको विषय उठान गरिन। ‘नागरिकहरूले डिएनए परीक्षण गर्न निकै लामो समय कुर्नुपर्ने बाध्यता रहेछ यो समस्या समाधान गर्न सरकारको ध्यान जाओस्’‚ उनले त्यस समयमा भनेकी थिइन्।
नेपालमा जनताको प्रत्यक्ष पहुँचमा नरहेको डिएनए परीक्षण सेवा सुरु भएको जम्मा एक दशक मात्रै भएको छ भने डिएनए परीक्षण गर्ने निकाय पनि एकदमै न्यून रहेका छन्। हाल नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोशालामा मात्रै डिएनए परीक्षण सेवा रहेको छ।
हत्या हिंसा तथा दुर्घटना जस्ता घटनामा उचित न्यायका लागि डिएनए परीक्षणको आवश्यक पर्ने हुँदा नेपालमा सबैभन्दा धेरै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला हुने गरेको छ। तर पछिल्ला दिनहरूमा यस केन्द्रमा क्षमताभन्दा माग धेरै हुँदा नागरिकहरूले समयमै डिएनए परीक्षणको पालो पाउन सकेका छैनन्।
डिनए परीक्षण गर्नुपर्ने घटना बढ्दो जनशक्ति न्यून
तर पछिल्ला समयमा बढेका हत्या हिंसा तथा दुर्घटना र सामाजिक विखण्डनले गर्दा डिनए परीक्षण गर्नुपर्ने संख्या बढ्दै गएको हुँदा पछिल्ला दिनमा डिएनए परीक्षण गराउनुपर्ने घटनाहरू बढ्दै गए पनि मागअनुसार जनशक्तिको कमी हुँदा समयमै सेवा दिन नसकिएको फरेन्सिक विज्ञ तथा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले बताए।
‘पछिल्ला समय डिएनए परीक्षण गर्नुपर्ने घटना बढ्दै गएका छन तर हाम्रोमा यसका लागि जम्मा ४ जना मात्रै जनशक्ति छौँ‚ न्यून शक्तिका कारण समयमै सेवा दिन सकिएको छैन’‚ फरेन्सिक विज्ञ तथा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख सिंहका अनुसार वार्षिक तीन सयसम्म परीक्षण गर्न सक्ने क्षमता भएको प्रहरीको विधि विज्ञान प्रयोगशालामा माग बढ्दो छ जसले गर्दा अहिले नै ८ सय जति परीक्षण गर्न पालोमा छन्।
‘क्रिमिनल केशसँग जोडिएर गर्नुपर्ने सम्पूर्ण परीक्षण हाम्रोमै गर्नुपर्ने हुँदा र पछिल्ला दिनमा यस्ता घटना बढ्दा पालैपालो गर्दा धेरै परीक्षण रोकिन पुगेका छन्’‚ प्रयोगशाला प्रमुख सिंहले भने‚ ‘सूक्ष्म तरिकाले निकै संवेदनशील तरिकाले परीक्षण गर्नुपर्दा अलि समय लाग्छ, प्रायः क्रिमिनल केशसँग जोडिएको परीक्षण गर्नुपर्ने सबै हाम्रोमा गर्नुपर्छ। यसले गर्दा पनि पालो पाउन गाह्रो हुन्छ।’
नेपालमा डिएनए परीक्षण र खर्च
बाबु आमा पहिचान गर्नुपर्ने जस्ता घटना खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पाइने गरिएको छ भने अन्य सबै खालका डिएनए परीक्षण प्रहरीको प्रयोगशालाबाट हुँदै आएको छ।
तर नेपालमा नागरिकले स्वतस्फुर्त डिएनए परीक्षण गर्न पाउने व्यवस्था छैन। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका फरेन्सिक विभाग प्रमुख तथा फरेन्सिक विशेषज्ञ डा. गोपालकुमार चौधरीका अनुसार नेपालमा दुईतीन कारणले मात्रै डिएनए परीक्षण गर्न पाइन्छ‚ एक हत्या हिंसा जस्ता आपराधिक घटना र अन्यमा बाबुआमाको पहिचानको विषयमा विवाद भयो भने अदालतको आदेशमार्फत मात्रै डिएनए परीक्षण गर्न पाइन्छ भने विदेशमा आफ्ना छोराछोरी लैजान वंश पहिचानका लागि समेत डिएनए परीक्षण हुने गरेको छ।
यस्तै अर्को भनेको ठूलाठूला दुर्घटनामा क्षतविक्षत तरिकाले मृत्यु भई शव पहिचान गर्न अप्ठ्यारो भएको अवस्थामा चिकित्सकहरूले पनि डिएनए परीक्षणमार्फत नै मृतकको शव पहिचान गरी परिवारलाई बुझाउने गरिन्छ। शव पहिचानका लागि डिएनए परीक्षण महत्त्वपूर्ण मानिन्छ।
यदि कुनै देखिने प्रमाण छैन वा अनुसन्धानको क्रममा कुनै व्यक्तिले झूटो बोलिरहेको छ भने त्यसका लागि एक मात्र निर्विकल्प उपाय पनि डिएनए परीक्षण नै हो। केही वर्षअघि नेपालमा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा भएको युएस बाङला विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पहिचान गर्न अप्ठ्यारो भएपछि डिएनए परीक्षणको सहायताबाटै शवको पहिचान गर्दै परिवारलाई बुझाइएको थियो। व्यक्तिको डिएनएको बनावट, औँलाहरू एकअर्काबाट फरक फरक हुन्छन्।
फरेन्सिक विज्ञ डा. चौधरीले भने‚ ‘डिएनए परीक्षण भनेको एकदमै संवेदनशील परीक्षण यसको यो प्रत्यक्षरूपमा नागरिकले गर्न पाउँदैन। यसका लागि अदालतको आदेश वा चिकित्सकले नै विशेष अवस्थामा गर्नुपर्ने हुन्छ।’ यसका लागि आठ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क लाग्ने गर्छ।
किन लामो समय कुर्नुपर्छ डिनए परीक्षण गर्न र रिपोट पाउन?
फरेन्सिक विज्ञ डा. चौधरीका अनुसार डिएनए परीक्षणका लागि प्रयोगशाला प्रक्रिया धेरै हुने हुँदा धेरै समय लाग्छ। एउटै घटनामा मात्रै फोकस भएर लागियो भने पनि उक्त रिपोट आउन कम्तिमा पनि दुई हप्ता लाग्छ तर हाम्रोमा न्यून जनशक्तिका कारण परीक्षण गरिने हुँदा २ देखि ६ महिनामा पूर्ण रिपोट आउँछ। ‘डिनए परीक्षणको प्रक्रिया धैरै लामो हुन्छ र एउटै टेष्टमा मात्रै फोकस भएर लागियो भने पनि कम्तिमा २ हप्तामा मात्रै रिपोट आउँछ तर हाम्रोमा भने अहिले नर्मली अवस्थामा २ देखि ६ महिनासम्म रिपोट आउँछ’‚ डा. चौधरीले भने।
के हो डिएनए परीक्षण?
पछिल्लो समय अत्यन्त चर्चामा रहेको डिएनए परीक्षणले अपराधको अनुसन्धान तथा पीडितलाई न्याय दिन अपराधीको भौतिक प्रमाणका लागि अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। नेपालमा सन् २००५ बाट भित्रिएको डिएनए परीक्षण प्रविधिबाट हाल विकसित देशमा जत्तिकै नेपालमा पनि अत्याधुनिक तरिकाले परीक्षण हुने गरेको छ।
यसै क्रममा मानव वा अन्य प्राणीका बारेमा अध्ययन गर्न उसका शरीरका विभिन्न अवयवको अनुसन्धान जारी छ। अपराधी र वंश पहिचानका निम्ति पनि यस्ता उपलब्धि प्रयोग हुँदै आएको पाइन्छ।
यस्तै एउटा वैज्ञानिक उपलब्धि हो- डिएनए अर्थात् डिअक्सिरिबोन्यूक्लिक एसिड। यो यस्तो जटिल अणु हो, जसमा एउटा अंग बन्न आवश्यक सबै सूचना हुन्छन्। हरेक जीवित प्राणीका कोषमा डिएनए हुन्छ। डिएनएमा वंशाणुगत गुण रहेका हुन्छन्। हरेक प्राणीका सन्तानमा यो सर्दै जान्छ। यसै कारण हत्या, बलात्कारजस्ता गम्भीर प्रकृतिका र जघन्य अपराधका अपराधी तथा ठूलाठूला दुर्घटनामा शव पहिचान गर्नका लागि डिएनए परीक्षण हुने गरेको छ।
गम्भीर खालका र जघन्य अपराधहरू (हत्या, बलात्कार) र अन्य गम्भीर खालका घटनामा मृत्यु भएकाहरूको हत्यारा पत्ता लगाउन नसकेको खण्डमा पछिल्लो समय डिएनए परीक्षणको सहयोग लिने गरिएको छ।
यसरी गरिन्छ डिएनए परीक्षण
डिएनए डिअक्सिरिबोन्यूक्लिक एसिडको संक्षिप्त रूप हो। हाम्रो शरीरमा वंशाणुगत गुण बोक्ने कोषहरूमा पाइने क्रोमोजोम यसैबाट बनेका हुन्छन्।
यो हजारौँ वंशाणुले बनेको हुन्छ र त्यसमा एडेनाइन, गुआलाइन,साइटोसाइन,थाइमाइनजस्ता अणु रहेका हुन्छन्। यी अणुले एउटा पुस्ताबाट अर्को पुस्ता उत्पादन गर्न डिएनएको महत्त्वपूर्ण भूमिका हुन्छ। बच्चा जन्मँदा उसको आकार, उचाइ, नाक, आँखा र शरीरका अंग कस्ता हुने भन्ने कुरा यही डिएनएमा निर्भर रहन्छ।
असंख्य कोषले मानव शरीर बनेको हुन्छ। मानव शरीरमा रहेका क्रोमोजोमहरू कोषभित्र न्युक्लियसमा हुन्छन्। क्रोमोजोम, प्रोटिन र डिएनएको एउटा अणुबाट बनेको हुन्छ।
एउटा मानिसमा भएका ४६ वटा क्रोमोजोम २३ जोडामा गाँसिएर बसेका हुन्छन्। महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा जोडा बसेका हुन्छन्। कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ।
डिएनए परीक्षण गर्ने वेला उसको कपाल, रगतमा रहेको सेतो रक्तकोष, गालाभित्र अर्थात् मुखभित्रबाट र्यालबाट पनि आवश्यक नमुना पनि झिक्नुपर्ने हुन्छ। यसैगरी पहिचान नखुलेका शवहरूको पहिचान गर्न दाँतको जराबाट केही मासु निकालेर हड्डीको धुलोबाट पनि डिएनए परीक्षण गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।