म्याग्दी : वर्षौँदेखि ओझेलमा परेका म्याग्दीका गाउँबस्तीमा विकास पुगेको छ। घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको सङ्ख्या बर्सेनी बढेको छ।
चार-पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ। तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए।
हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका- २ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइसराइका कारण एक्लिँदै जान थालेको छ। ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन्। बस्ती पातलिँदै जान थालेको छ। भीरपहरा र खोला छिचोल्दै गाउँमै सडक पुगेको छ। सुविधा थपिएका छन्। विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जानेक्रम भने झन् बढ्दै जान थालेका छन्,’ छन्त्यालले भने।
ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँ बसाइसराइका कारण उजाडिएका छन्। जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइसराइ बढ्दै गएको छ। बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइसराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधि बताउँछन्।
आठरदश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ। त्यसैगरी १७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।
गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उहाँको भनाइ छ। गाउँमा साह्रोगाह्रो र आपत् विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका-२ का केदार जैसीले बताए।
म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो।
विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ जना भएको केन्द्रीय विभागको तथ्यांकमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।