काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेताहरूले आजको भोलि नै पार्टी एकता भइहाल्ला जसरी निरन्तर अभिव्यक्ति दिँदै आएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले नै बढी जोडका साथ चाँडै एकता हुने दाबी गर्दै आएका छन् भने दोस्रो तहका नेताहरूले पनि स्वर थप्दै आएका छन्।
माघ २९ सुर्खेत पुगेर अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग चाँडै एकता हुने दाबी गरे। एकता लागि दुबै अध्यक्षसँग कुराकानी भइरहेको सुनाउँदै उनले समाजवादी मोर्चा पार्टी एकतासम्म पुग्नकै लागि बनेको बताए।
उनले भने, ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ।’
प्रचण्डले त्यसअघि माघ १९ मा पनि चितवनमा सोही दाबी गरेका थिए। ‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन’, नेकपा समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भनेका थिए, ‘अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दै छ भन्ने मेरो बुझाइ छ।’
माओवादी उपमहासचिव वर्षमान पुनले पनि प्रचण्डको स्वर थप्दै नेकपा समाजवादीसँग एकता हुने बताएका छन्। फागुन १ गते खोटाङ सदरमुकाम दिक्तेल पुगेर उनले नेकपा समाजवादी र माओवादीको कार्यदिशामा समानता रहेको बताएका थिए। उनले भने, ‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ।’
त्यसो त माओवादीसँग नेकपा समाजवादी र नेकपाको एकता हुने चर्चा नयाँ होइन। दलहरूले पार्टीका तर्फबाट एकताका लागि वार्ता समिति नै बनाएर छलफल थालेका थिए। माओवादी र नेकपा समाजवादीबीच त २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि नै एकता भइहाल्ने चर्चा थियो।
विप्लव नेतृत्वको नेकपासँग पनि एकता भइहाल्ने गरी प्रक्रिया अघि बढेको दाबी नेताहरूको थियो तर पछिल्लोपटक नेकपाले माओवादीकै कारण तत्काललाई एकताको सम्भावना टरेको निष्कर्ष निकालिसकेको छ।
छलफलसमेत हुन छाडे
एकताको चर्चा चल्दा अध्यक्षद्वय प्रचण्ड र नेपालले शृङ्खलाबद्ध संवादसमेत नगरेका होइनन् तर खासगरी एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू माओवादीसँगको एकताका लागि अनिच्छुक देखिएपछि थप अघि बढ्न सकेन।
पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठकमै दोस्रो तहका नेताहरूले माओवादीसँग एकता गरेको खण्डमा ठूलै पङ्क्ति एमालेमा फर्किने खतरा औंल्याएका थिए।
नेकपा समाजवादीका नेता डा. विजय पौडेल माओवादीले प्रयोग मात्रै गर्न खोजेको महसुस भएपछि एकताको प्रक्रिया भाँडिएको बताउँछन्। ‘पहिलो धेरै अगाडि नै बढिसक्या थ्यो’, उनले भने, ‘पछि मिसयुज मात्रै गरे भन्ने लाग्यो क्यारे हाम्रो अध्यक्षलाई। त्यसपछि थप अघि बढेन।’
अहिले माओवादी नेताहरूले छिट्टै पार्टी एकता हुने दाबी गरिरहँदा यसबारे छलफलसमेत हुन छाडेको नेकपा समाजवादीका नेताहरू बताउँछन्। एकताबारे पार्टीमा वा माओवादीसँग पछिल्लो समय कुनै छलफल नभएको पार्टी उपाध्यक्ष प्रकाश ज्वाला बताउँछन्।
वाम एकताको पक्षमा पहिल्यैदेखि रहे पनि अहिले माओवादीले भनेजसरी तत्काल एकताका भइहाल्ने अवस्था पनि नरहेको उनले बताए। ‘अहिले त्यस्तो औपचारिक वा अनौपचारिक कुनै छलफल पनि भएको छैन। केही प्रक्रिया अघि बढेको पनि छैन’, नेता ज्वालाले भने, ‘हामीले मोर्चामार्फत सहकार्य चाहिँ गरिरहेका छौँ तर पार्टी एकताकै सन्दर्भमा छलफल, ठोस निर्णय वा सहमति केही भएको छैन। वाम एकताको पक्षमा त हामी सबै छँदै छौँ।’
नेकपा समाजवादीका नेताहरू तत्काल प्रक्रियामा नभए पनि भोलिका दिनमा एकताको सम्भावना भने कायमै रहेको बताउँछन्। उपाध्यक्ष ज्वाला भन्छन्, ‘पहिला एक ढंगले छलफल भयो तर टुंगोमा पुगेन। अब भोलिका दिनमा पनि सम्भावना छैन भन्ने चाहिँ होइन तर तत्काल त केही हुने अवस्था छैन।’
एकताको आधारहीन दाबी किन ?
प्रारम्भिक प्रक्रिया नै भाँडिएर छलफलसमेत हुन छोडेका वेला माओवादी नेताहरूले भने किन बारम्बार एकता हुने दाबी गरिरहेका छन्?
राजनीतिक विश्लेषक मुमाराम खनाल कार्यकर्ताको खपतका लागि मात्रै माओवादी नेताहरूले एकताको कुरा गर्ने गरेको ठान्छन्। पार्टी शक्तिशाली होस् भन्ने कार्यकर्ताको चाहनालाई बुझेर उनीहरूलाई उत्साहित बनाउन त्यस्तो अभिव्यक्ति आउने गरेको उनको बुझाइ छ।
‘नेपालमा चाहिँ के छ भने फुटका लागि जुट्ने र जुट्नका लागि फुट्छन् कम्युनिष्टहरू। संगठनमा व्यक्तिवाद हावी भएपछि त्यहाँ लोकतान्त्रिक अभ्यास हुन पाउँदैन। त्यसपछि व्यक्तिवादमा आधारित बाहेक अरू व्यक्ति त्यो पार्टीमा बसिराख्दैनन् र विभाजित हुन्छन्’, उनी भन्छन्, ‘तर एकताको कुरा फेरि किन गर्छन् भने कार्यकर्ताका खपतका लागि। किनभने कार्यकर्ताले ठूलो पार्टी होस्, शक्तिशाली होस् भन्ने चाहन्छन्। एकताको कुराले कार्यकर्ता उत्साहित हुन्छन्।’
माओवादी सचिव दीनानाथ शर्मा भने एकताका लागि पहिल्यै नीतिगत रूपमा छलफल चलाउने निर्णय भएकाले यसले छिट्टै ठोस रूप धारण गर्ने आशय अध्यक्ष प्रचण्डको हुन सक्ने बताउँछन्। ‘हामीले एकताका लागि नीतिगत रूपमा छलफल चलाउने भनेर धेरै पहिले निर्णय गरेका हौँ। त्यसकारण यसले छिट्टै ठोस रूप ग्रहण गर्न सक्छ भन्ने उहाँको आशय होला।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।