उपाधिको खडेरी टार्ने सुनौलो मौका
उपाधिको खडेरी टार्ने सुनौलो मौका
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमवारदेखि काठमाडौँमा अन्ताराष्ट्रिय महिला फुटबल च्याम्पियनसिप हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यान्मा, किर्गिस्तान र लेबनानले भाग लिँदै छन्। लेबनान र म्यान्माका टोली शुक्रवार राति काठमाडौँ आएका हुन् भने यसअघि बिहीवार नै कीर्गिस्तानको टोली नेपाल आइसकेको छ।
शनिबारदेखि नै ती टोलीहरूले एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा तयारी सुरु गरेका छन्। नेपालमै चार देश सम्मिलित महिला फुटबल प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो।
एएफसी महिला एशियन कप र फिफा महिला विश्वकप छनौटको तयारी स्वरूप हुन लागेको प्रतियोगिता फागुन १४ सम्म हुनेछ।
नेपालले फागुन ५ गते सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। यो खेल साँझ ६ बजे दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ। यही दिन दिउँसो २ बजे म्यान्मा र लेबनानबीच पनि खेल हुनेछ।
यसैगरी नेपालले दोस्रो खेलमा फागुन ८ गते बिहीबार लेबनानसँग र फागुन ११ गते आइतबार म्यान्मासँग तेस्रो खेल खेल्नेछ। दुबै खेल साँझ ६ बजे हुनेछ।
फागुन ८ गते किर्गिस्तान र म्यान्मा तथा फागुन ११ गते किर्गिस्तान र लेबनानबीचको खेल हुनेछ। यी दुबै खेल दिउँसो २ बजे हुनेछन्।
२ करोड ५० लाख ५६ हजार बजेटको यो प्रतियोगितामा साधारण प्यारापिटतर्फ दर्शकका लागि ५ सय र भिआइपीतर्फ १ हजार टिकट दर निर्धारण गरिएको छ।
नेपाली टिम कस्तो ?
दक्षिण एशिया बाहिरका देशहरूबीचको यो भिडन्तमा घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई छ। स्टार खेलाडी सावित्रा भण्डारी साम्बासँगै अन्य देशका लिग खेलिरहेका नेपाली टोलीका अन्य खेलाडीले नेपाली टोली बलियो स्थितिमा देखिन्छ।
व्यावसायिक फुटबल खेल्नका लागि युएई पुगेकी आबुधावी काउन्टीमा अनुबन्ध रेखा पौडेल र ग्रिसको क्लब महिला ‘ए’ डिभिजन खेलिरहेकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको अनुभवले पनि नेपाली टोली हौसिएको छ। साम्बा पनि फ्रान्सेली क्लबमा आबद्ध छिन्।
गोलकिपरमा अन्जना राना मगर र उषानाथ नेपाली टोलीको राम्रो विकल्प हुन्। डिफेन्समा गीता राना, अमृता जैशी, पूजा राना, विमला विक, निशा थोकर अनुभवी छन्। समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईं पनि डिफेन्समै छन्।
नेपाल मिडफिल्डको खम्बा प्रीति राई हुन्। उनीसँगै सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बूले नेपाली टोली सन्तुलित बनेको छ। मिडफिल्डमा रेनुका हमाल र सुष्मा तामाङ पनि टोलीमा छन्।
नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो। विगत केही वर्षदेखिको इतिहास पल्टाउने हो भने साम्बाको आक्रामक प्रस्तुतिले नेपालको स्कोरिङ उकासिरहेको छ।
हार्नै लागेको खेलमा पनि साम्बाले कमब्याक गराएको स्थिति छ। प्रशिक्षक राजेन्द्र तामाङले साम्बाका लागि सही रणनीति बनाउन सके नेपालले जुनै बेला पनि विपक्षीविरुद्ध गोल गर्न सक्छ।
सोमबार किर्गिस्तानविरुद्धको खेलमा साम्बा खेल्ने सम्भावना कम रहेको प्रशिक्षक बताउँछन्। सा‘म्बा सोमबार बिहानमात्रै स्वदेश फर्कने हुँदा खेल्ने सम्भावना कम हुन सक्छ’, उनले भने।
अग्रपंक्तिमा रश्मिकुमारी घिसिङ, रेखा पौडेल‚ अनिता केसी पनि उत्तिकै सम्भावना बोकेका खेलाडी हुन्। केही महिनाअघि सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा रेखाले ७ गोल हानेकी थिइन्। अग्रपंक्तिमा चन्द्रा भण्डारी पनि रहेकी छिन्।
दक्षिण एशियाली राष्ट्रमा मात्र सीमित नभएर एशियाका विभिन्न क्षेत्रका देशसँग फुटबल खेल्दै आएको नेपाली महिला टिमका लागि ४ देश सम्मिलित यो प्रतियोगिता उपाधि जितेर कीर्तिमान बनाउने सुनौलो अवसर हुनसक्छ। यसअघि १२ वटा प्रतियोगितामा फाइनलमा पुगेर उपाधि जित्न नसकेको इतिहास नेपालसँग छ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई स्थानमा हुने टोली अन्ताराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुग्नेछन्। फिफा वरीयतामा म्यान्मा नेपालभन्दा माथि रहेको छ भने किर्गिस्तान र लेबनान वरीयतामा नेपालभन्दा तल छन्।
कस्ता छन् प्रतिद्वन्द्वी?
म्यान्मा ः फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा रहेको म्यान्मालाई यो प्रतियोगिताको उपाधि दाबेदारका रूपमा लिइएको छ।
नेपाल र म्यान्माबीच ३ पटक प्रतिस्पर्धा भएको छ। जसमा म्यान्माले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।
सन् २०१८ मा भएको ओलम्पिक एशिया छनोटको पहिलो चरणमा नेपाल र म्यान्माले १–१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न हिरो कपको लिग चरणमा नेपाल म्यान्मासँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो।
सन् २०२२ मा भारतमा भएको एएफसी महिला एशियन कप सहित पाँचपटक एशियन कप खेलिसकेको अनुभवी म्यान्मालाई रोक्न सके नेपालको उपाधिको सम्भावना अधिक रहने विश्लेषण गरिएको छ।
म्यान्मा पछिल्लो पटक गत अक्टोबरमा हङकङसँग भएका दुबै मैत्रीपूर्ण खेलमा समान ४–१ ले विजयी हुँदै हौसिएको छ।
किर्गिस्तान :
अन्ताराष्ट्रिय महिला च्याम्पियनसिपमा सहभागी भएको अर्को टोली किर्गिस्तानसँग नेपालले एकपटक प्रतिस्पर्धा गरेको छ। सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले घरेलु टोलीलाई ८–२ गोलले हराएको थियो। फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल छ। किर्गिस्तान फिफा वरीयतामा १२८ औं स्थानमा छ।
सन् २०२२ मा भएको सेन्ट्रल एशियन फुटबल एसोसिएसन (काफा) च्याम्पियनसिपमा तेस्रो भएको किर्गिस्तानले सन् २०२३ को अप्रिलमा ओलम्पिकको एशिया छनोटको पहिलो चरणमा भारतसँग ५–० र ४–० को हार बेहोरेको थियो।
२ वर्ष पछि अन्ताराष्ट्रिय फुटबलमा फर्केको किर्गिस्तानविरुद्ध नेपाललाई त्यत्ति कठिन हुने देखिएको छैन।
यद्यपि फिफा वरीयतामा बंगलादेश नेपालभन्दा तल रहे पनि केही महिना अघिसम्पन्न साफ च्याम्पियनसिपमा फाइनलमा दिएको नतिजाले भने नेपालका लागि जुनसुकै विपक्षीसँग पनि ढुक्क हुने अवस्था छैन।
लेबनान : नेपाल र लेबनानबीच अहिलेसम्म एकपटक प्रतिस्पर्धा भएको छ। यो प्रतियोगिता खेल्ने चारमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको लेबनानको टोलीसँग नेपालले गत वर्ष साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो।
सो खेलमा नेपाल २–१ ले विजयी भएको थियो। हाल फिफा वरीयताको १३४ औं स्थानमा रहेको लेबनान इतिहासका हिसाबले कमजोर देखिए पनि नेपालले उसलाई कमजोर मात्र आँक्न मिल्दैन। सन् २०२२ को वाफ च्याम्पियनसिपको उपविजेता टोली पनि लेबनान रहेको थियो।
१२ फाइनलको पीडा भुल्ने अवसर
यो प्रतियोगितामा फाइनल पुग्दै उपाधि जितेर विगत १२ वटा विभिन्न प्रतियोगितामा फाइनलमा पराजित भएको पीडाको मल्हम लगाउने अवसर हुनसक्छ।
नेपाली महिला टिमले साफ महिला च्याम्पियनसिपमा ४ पटक भारत र २ पटक बंगलादेशसँग गरी ६ पटक तथा दक्षिण एशियाली खेलकुद (साग) मा ३ पटक फाइनलमा भारतसँग पराजित भएको छ।
यस्तै २०१९ मा भारतमा भएको वुमन्स हिरो गोल्ड कपमा म्यान्मासँग, सन् २०१९ मै किर्गिस्तानमा भएको नादेज्दा कपमा उज्वेकिस्तानसँग र गत वर्ष वेस्ट एशियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा जोर्डनसँग पराजित हुँदै उपाधिको मुखमै पुगेर रित्तो हात फर्किएको छ।
पछिल्लो पटक गत नोभेम्बरमा घरेलु मैदानमै दक्षिण एशियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।