राजविराज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धनले सबै उत्साहित भएको दावी गरेका छन्।
प्रेस चौतारी, सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि सत्ता गठबन्धन गरेको बताएका हुन्।
स्थायी प्रकृतिको सरकार बनाउनकै लागि नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको र यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उनको भनाइ थियो।
‘यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ। देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ। अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लाभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ’, ज्ञवालीले भने।
उनले मुलुकको विकास र समृद्धिकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारसँग पर्याप्त विकल्प रहेकाले कसैले विरोध गर्दैमा अध्यादेशमा समस्या नहुने उपमहासचिव ज्ञवालीको जिकिर थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।