काठमाडौं : काठमाडौंमा सोमबार शुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाललाई म्यानमार तगारो हुने देखिएको छ।
नेपाल र म्यानमारसहित किर्गिस्तान र लेवनान गरी ४ वटा देशको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
विगतमा भएको प्रतिस्पर्धा र उनीहरुको पछिल्लो स्थिति हेर्दा नेपालका लागि म्यानमार सबैभन्दा बलियो प्रतिस्पर्धी मानिएको छ।
फिफा वरीयतामा म्यानमार नेपालभन्दा माथि रहेको छ भने किर्गिस्तान र लेवनान वरीयतामा नेपालभन्दा तल छन्।
फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा रहेको म्यानमारलाई यो प्रतियोगिताको उपाधि दाबेदारका रूपमा लिइएको छ। नेपाल र म्यानमारबीच ३ पटक प्रतिस्पर्धा भएको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।
सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपाल र म्यानमारले १-१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० तथा फाइनलमा ३-१ ले पराजित भएको थियो।
सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कप सहित पाँच पटक एसियन कप खेलीसकेको अनुभवी म्यानमारलाई रोक्न सके नेपालको उपाधिको सम्भावना अधिक रहने विश्लेषण गरिएको छ। म्यानमार पछिल्लो पटक गत अक्टोबरमा हङकङसँग भएका दुवै मैत्रीपूर्ण खेलमा समान ४-१ ले विजयी हुँदै हौसिएको छ।
किर्गिस्तान र लेबनान म्यानमारभन्दा कम बलियो टोलीका रुपमा लिइएको छ। यसअघि नेपालले किर्गिस्तान र लेवनानसँग मात्र एकएक पटक प्रतिस्पर्धा गरेको छ।
सन् २०१९ मा कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले घरेलु टोलीलाई ८-२ गोलले हराएको थियो। फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। किर्गिस्तान फिफा वरीयतामा १२८ औं स्थानमा छ।
नेपाल र लेबनानबीच अहिलेसम्म १ पटक प्रतिस्पर्धा भएको छ। यो प्रतियोगिता खेल्ने चारमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको लेवनानको टोलीसँग नेपालले गत वर्ष साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो।
सो खेलमा नेपाल २-१ ले विजयी भएको थियो। हाल फिफा वरीयताको १ सय ३४ औँ स्थानमा रहेको लेवनान इतिहासका हिसाबले कमजोर देखिएपनि नेपालले उसलाई कमजोर मात्र आँक्न मिल्दैन। नेपालमै चार देश सम्मिलित महिला फुटबल प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो।
एएफसी महिला एसियन कप र फिफा महिला विश्वकप छनौटको तयारी स्वरुप हुन लागेको प्रतियोगिता फागुन १४ सम्म हुनेछ।
नेपालले फागुन ५ गते सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिता शुरु गर्नेछ। यो खेल साँझ ६ बजे दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ। यही दिन दिउँसो २ बजे म्यानमार र लेबनानबीचको पनि खेल हुनेछ।
यसैगरी नेपालले दोस्रो खेलमा फागुन ८ गते बिहीबार लेबनानसँग र फागुन ११ गते आइतबार म्यानमारसँग तेस्रो खेल खेल्नेछ। दुबै खेल साँझ ६ बजे नै हुनेछ।
फागुन ८ गते कीर्गिस्तान र म्यानमार तथा फागुन ११ गते कीर्गिस्तान र लेवनानबीचको खेल हुनेछ। यी दुबै खेल दिउँसो २ बजे हुनेछन्। शीर्ष २ टोली फाइनलमा फागुन १४ गते भिड्नेछन्।
अञ्जिला र रेखा आए , साम्बा सोमबार आउँदै
४ देश सम्मिलित अन्तराष्ट्रिय महिला फुटबल खेल्न नेपाली स्टार खेलाडी स्वदेश आएका छन्। नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी सोमबार नेपाल आउने भएकी छिन् भने नेपाली कप्तान एवं गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा र फरवार्ड रेखा पौडेल स्वदेश फर्किइसकेका छन्।
नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा युएईबाट शनिबार काठमाडौं आइपुगेकी छिन्। यूएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी रेखा शनिबारबाटै नेपाली राष्ट्रिय टिमको सिविरमा पुगेकी छिन्।
नेपाल पुलिस क्लबकी खेलाडी रेखाले आबुधाबी कन्ट्री क्लबबाट रेखाले चार खेल खेल्दै दुई गोल गरेकी छिन्। राष्ट्रिय टिमबाट २०१९ मा डेब्यु गरेकी रेखाले १९ वटा खेलमा ११ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। ७ गोल त सन् २०२४ को साफ च्याम्पियनसिपमै भएको थियो।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप शुरु हुनु ६ दिन पहिले नै नेपाली टोलीकी कप्तान एवं गोलकिपर अञ्जिला नेपाल आइपुगेकी छिन्। व्यवसायिक फुटबल खेल्नका लागि ग्रिस पुगेकी अञ्जिलाले त्यहाँको महिला ‘ए’ डिभिजन लिग निस अट्रोमिटौलेबाट खेलिरहेकी छन्। अहिलेसम्म ३ वटा खेलमा मौका पाएकी अञ्जिलाले एक जित, एक हार र एक बराबरीको नतिजा निस्किएको छ।
नेपाली फर्वाड साम्बा फ्रोन्सेली प्रिमियर लिग क्लब इन एभान्ट गुइनग्याम्पमा आबद्ध छिन्। नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो। विगत केही वर्षदेखिको इतिहास पल्टाउने हो भने साम्बाको आक्रमक प्रस्तुतिले नेपालको स्कोरिङ उकासिरहेको छ।
हार्नै लागेको खेलमा पनि साम्बाले कमब्याक गराएको स्थिति छ। प्रशिक्षक राजेन्द्र तामाङले साम्बाका लागि सही रणनीति बनाउन सके नेपालले जुनै बेला पनि विपक्षी विरूद्ध गोल गर्न सक्छ।
सोमबार कीर्गिस्तान विरुद्धको खेलमा साम्बा खेल्ने संभावना कम रहेको प्रशिक्षक बताउँछन्। साम्बा सोमबार बिहान मात्रै स्वदेश फर्किने भएकाले खेल्ने सम्भावना कम हुन सक्छ , उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।