नेपालले किर्गिस्तानसँग सोमवार खेल्ने

|

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सोमवार शुरु हुने महिला फुटबल च्याम्पियनशिपका लागि आफ्नो टोली तयार रहेको बताएका छन्।

४ देश (म्यानमार, लेबनान र किर्गिस्तान) सम्मिलित महिला च्याम्पियनशिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार शुरु हुँदै छ। 

नेपालले सोमवार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। उक्त खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी भने नेपाली टोलीमा उपलब्ध हुने छैनन्। उनी सोमवार नै फ्रान्सबाट स्वदेश फर्कने भएकाले आराम गर्ने प्रशिक्षक तामाङको भनाइ छ। 

आइतवार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी किर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने बताएका छन्। 

बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने प्रशिक्षक तामाङले उल्लेख गरेका छन्। किर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्ने भए पनि सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ। 

उनले भर्खरै अधिकांश खेलाडी लिग खेलेर आएकाले इन्डुरेन्समा धेरै काम गर्नु नपरेको बताएका छन्। नेपालको मुख्य समस्या खराब डिफेन्सलाई सुधार गर्न काम भैरहेको उनले उल्लेख गरे। 

प्रशिक्षकले टिममा राम्रो टिम लिडर हुनुपर्नेमा जोड दिँदै आएको पनि बताएका छन्। उनले सहभागी टोलीमध्ये लेबनान र म्यानमार पनि बलियो रहेको बताए।  

पछिल्लो भेटमा लेबनानसँग एउटा गल्तीले गोल बेहोरेको उल्लेख गर्दै प्रशिक्षकले यसपल्ट सुधार गर्ने आशा गरे। लेबनानसँग छिट्टै खेल रिड गर्नसक्ने क्षमता रहेकाले सचेत भएर खेल्ने प्रशिक्षक तामाङको योजना छ तर उनीहरूमा इन्डुरेन्सको कमी रहेको त्यसको फाइदा लिने उनी बताउँछन्। 

उनले म्यानमार धेरै बलियो रहे पनि यसपल्ट आफ्नो टोली पनि राम्रो रहेकाले सकारात्मक नतिजा आउने बताएका छन्। 

नेपाली महिला टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले सहभागी सबै टोली राम्रो रहे पनि मैदानमा राम्रो खेलेर आफूलाई प्रमाणित गर्ने बताइन्।

म्रो टिमवर्क र तयारी भएकोले जित्ने अपेक्षा रहेको कप्तान एञ्जिला बताउँछिन्। उनले यसअघि हुँदै आएको गल्तीलाई सुधार्न काम भैरहेको पनि उल्लेख गरेकी छन्। प्रशिक्षकले भनेअनुरूप खेलाडीले तयारी गरिरहेकाले गल्ती नदोहोरिनेमा कप्तान तथा गोलकिपर एन्जिला आशावादी छिन्। 

एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनशिप आयोजना गरेको हो। सोहीअनुरूप नेपालले ४ देशीय च्याम्पियनशिप खेल्न लागेको हो। 

म्यानमारबाहेक २ टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन्। नेपाली टोलीका प्रशिक्षक र कप्तान सबै टोली बलियो रहेको उल्लेख गर्छन्। 

किर्गिस्तानका प्रशिक्षक नेमातझन जाकिरोभले यो प्रतियोगिता खेल्न पाउँदा आफू उत्साहित रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए। उनले विपक्षीको सम्मान गर्दै टिम युनिटीका साथ राम्रो फुटबल प्रस्तुत गर्ने उल्लेख गरेका छन्। 

प्रशिक्षकले नेपालको यू–१६ युथ लिगको फुटबल हेरेको उल्लेख गर्दै त्यो अनुभव पनि आफूहरूको लागि रमाइलो रहेको बताए। खेलमा राम्रो दर्शक आउने अपेक्षा पनि उनले गरेका छन्। 

किर्गिस्तानकी कप्तान अबिबुल्लाह किजी दिल्नुराले आफ्नो युवा टोली उपाधि जित्नको लागि आएको बताइन्। यदि उपाधि जित्न सफल भएन भने राम्रो अनुभव लिँदै फर्कने पनि उनको भनाइ छ। 

लेबनानका प्रशिक्षक वाइल घार्जेडिन्नेले आफ्नो टोलीमा अधिकांश विदेशी भूमिमा खेल्ने खेलाडी र युवा रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए। 

खेलाडीबीच राम्रो तालमेलसहित खेल्ने उनको विश्वास छ। उनले नेपाली टोली बलियो रहेको उल्लेख गर्दै वाफमा भन्दा अहिले सुधारबारे यो खेलमा अझ थाहा पाइने बताए। घरेलु टोलीलाई केही दबाब हुने भए पनि आफूहरू बिना दबाब खेल्ने उनको विश्वास छ। 

लेबनानकी कप्तान नाथाली माटरले आफ्नो टोलीमा अधिकांश खेलाडी विदेशीमा खेल्ने भएकाले उनीहरूबीच राम्रो तालमेल मिलाउन यो प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरेकी छन्। 

म्यानमारका प्रशिक्षक टेटसुरो युकीले आफ्नो टोली पिफा र्‍याङकिङमा माथि भए पनि विपक्षीले पनि राम्रो तयारी गरेर आएकाले सजग भएर खेल्ने बताएकी छन्। नेपाली टोली धेरै राम्रो रहेकाले उनीहरूविरुद्ध राम्रो खेल्ने पनि उनको योजना छ। 

म्यानमारकी कप्तान विन थिइङ्गी टुमले आफूहरूले अन्य मैत्रीपूर्ण नखेल्ने भएकाले यो प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेकी छन्। 

गत कात्तिकमा महिला साफ च्याम्पियनशिपको फाइनलमा पराजित भएको ३ महिनापछि नै नेपाली टोलीले घरेलु मैदानमा यो प्रतियोगिता खेल्न लागेको हो। 

गत कात्तिक १४ गते दशरथ रंगशालामा महिला साफ च्याम्पियनशिपको फाइनलमा नेपाल बाङ्लादेशसँग ३–१ ले पराजित भएको थियो। यससँगै नेपाली महिला टोली १२ वटा अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको थियो। 

यसपल्ट भने नेपाली टोली त्यो खराब लय दोहोर्‍याउन चाहँदैन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप यो प्रतियोगिता आयोजना गरेको हो। 

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ ५ सय रूपैयाँ र भिआइपीतर्फ १ हजार रूपैयाँ तोकिएको छ। प्रतियोगिताका लागि २ करोड ५० लाख ७६ हजार रुपैयाँ अनुमानित बजेट रहेको एन्फाको भनाइ छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.