|

काठमाडौँ : ठेक्का सम्झौता भएको ७ वर्षपछि बनेको हो धोबीखोला पुल। अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेज अगाडिको उक्त पुल २०७९ माघबाट सञ्चालनमा आएको थियो तर गाडी दुर्घटना भइरहनुले असुरक्षित बनेको महसुस गरिएको छ। सोही पुलबाट बारम्बार सवारीसाधन खोलामा खसेको छ।

हिजो (आइतवार) साँझ बा २१ च ६६१४ नम्बरको कार पुलबाट खोलामा खस्यो। त्यही पुलबाट गत पुस २१ गते बिहानै बिएए ८७१४ नम्बरको कार खोलामा खसेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कार अनामनगरबाट बानेश्वर जाँदै थियो। चालक भने सकुसल रहे।​​​

त्यस्तै गत भदौ ३० गते पनि त्यही पुलबाट एउटा ट्याक्सी खसेको थियो। त्यसबेला ठूलो बाढीले ट्याक्सीलाई बगाएर बुद्धनगर र थापाथली जोड्ने पुल नजिक पुर्‍याएको थियो। यसरी बारम्बार उक्त स्थानमा सवारीसाधन दुर्घटना हुन थालेपछि जोखिम बढेको प्रष्ट हुन्छ तर कसैको चासो गएको छैन। 

किन बारम्बार दोहोरियो दुर्घटना?

पुल सञ्चालनमा आए पनि ती क्षेत्रमा सुरक्षित बनाइएको छैन। पुल वरिपरि अर्थात् सडक छेउमा सवारीसाधन सुरक्षित हुने खालका सिमेन्टेड पिलर वा कुनै पनि संरचना बनाएर राखिएको छैन। त्यसकारण पनि बारम्बार दुर्घटना दोहोरिएको स्थानीयहरूले बताएका छन्।

महानगरपालिका वडा-२९ का वडाअध्यक्ष कुश ढकालले भोलि(मंगलवार) त्यहीँ गएर अध्ययन गरिने जानकारी दिए।

‘यो पुल महानगरले नभइ सडक डिभिजन कार्यालय काठमाडौँले बनाएको हो, यहाँ बारम्बार सवारीसाधन दुर्घटना भएको छ, के कारण भइरहेको छ भन्ने यकिन भन्न सकिएन, त्यसैले यसबारे भोलि त्यहीँ गएर हेर्दै छौँ, हामी केही यसको निकास निकाल्छौँ,’ उनले भने। 

भत्काउँदै, बनाउँदै गरिएको थियो पुल

१२.८० मिटर लम्बाइ भएको उक्त पुल निर्माणका लागि २०७२ साउन २१ मा सडक डिभिजन कार्यालय काठमाडौँ र भण्डार थोडुङ–जि टेक जेभीबीच तीन करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो।

सम्झौता भएको दुई वर्षपछि अर्थात् २०७४ सालसम्ममा खोला वारिपारि दुई पिलर मात्र ठडिए। त्यही सालदेखि काम रोकियो। अलपत्र परेको तीन वर्षपछि २०७७ मंसिरदेखि पुनः काम सुरु भयो तर, गलत डिजाइन भएपछि ती ठडिएका पिलर भत्काइएको थियो। त्यही सालदेखि काम रोकियो।

पुल अलपत्र परेको तीन वर्षपछि २०७७ मंसिरदेखि पुनः काम सुरु भयो तर गलत डिजाइन भएपछि ती ठडिएको पिलर भत्काइएको थियो। ६ वर्षको अवधिमा उक्त पुलमा बल्ल स्ल्याब र रेलिङ राखियो तर सडकको सतह र पुल तह पुन: मिलेन।

त्यही कारण २०७८ माघ महिनामा धोबीखोला करिडोरको पक्की सडक ढलान फेरि सबै उप्काइयो। जसकारण घण्टौँ जाम हुँदा सवारीचालक हैरानी खेप्न बाध्य भए। धोबीखोला पुल माटो ल्याएर थुपार्दै र सम्याउँदैमा वित्यो ७ वर्ष। वर्षौदेखि पुल अलपत्र पार्दा झनै स्थानीय हैरानी खेप्न बाध्य भए। वर्षातका वेला बाढी पस्ने त्रासमा स्थानीय रहे। उनीहरूले बनाउन सकेनन् भने भत्काएर बाटो सहज बनाउन मागसमेत गरे। 

यता सडक डिभिजन कार्यालय काठमाडौँले समयमा बन्नुपर्ने बेला डिजाइन पुन: फेर्नुपर्ने,कहिले कोभिडका कारण निर्माण सामाग्री ल्याउन नसक्दा समयमा बन्न नसकेको लगायत बहाना बनाइरह्यो। अन्ततः ठेक्का लागेकाे ७ वर्षपछि पुल बनेर सञ्चालनमा आए पनि बारम्बार त्यहाँबाट सवारीसाधन खोलामा खस्ने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.