कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो। अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो।
“उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रुपमा गरेका छौँ,” अस्पतालका चिकित्सक डा चौधरीले भने, “यो दुलर्भ नै हो।”
उनका अनुसार धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए।
“हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ,” अध्यक्ष भट्टले भने, “उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रुपमा गर्यो ।”
वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उहाँको खुट्टा भाँचिएको थियो।
“उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ”, देउवाले भने, “खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ।”
तपाईंको ईमेल गोप्य राखिनेछ ।