काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने निर्णय भएसँगै तयारी थालेको छ। त्रिविका शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा माघ ७ गते बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको थियो। त्यही वेला विभिन्न विद्यार्थी संगठनले पनि सहमति जनाएका थिए।
तर केही दिनअघिदेखि भने स्ववियु अध्यक्षहरूले नै त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०८१ लाई लिएर विरोध गर्न थालेका छन्। त्रिवि पदाधिकारीहरूलाई विश्वविद्यालयमा प्रवेश गर्ने नदिन चेतावनी दिएका छन्। तालाबन्दी पनि गरिएकाे छ।
जसकारण चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन तोकिएको समयमा नहोला कि भन्ने आशंका उब्जिन थालेको छ। त्यसैले अन्य विद्यार्थी संगठनहरुले निर्वाचन समय सर्ने परिस्थिति देखेपछि त्यसलाई विरोध जनाउँदै तोकिएकै समयमा गर्न माग गर्न थालेका छन्।
त्रिवि विश्वविद्यालय क्याम्पस स्ववियु अध्यक्ष श्यामराज ओझा,पुल्चोक क्याम्पस स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। फागुन ४ गते जारी विज्ञप्तिमा त्रिवि सभा बैठक तत्काल नराखे त्रिवि पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरिने चेतावनी उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२ मा स्ववियु सञ्चालन सम्बन्धी सम्पूर्ण कार्यविधि स्पष्ट व्यवस्था रहेको छ, यसै सन्दर्भमा २०८१।१०।२८ मा त्रिवि कार्यकारी परिषदको बैठकले निर्णय गरेको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
उनीहरूले उक्त निर्देशिकाको बुँदा १३(४) मा ‘स्ववियु सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिनेछ’ भन्ने व्यवस्था त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८ (घ) को विपरीत रहेको बताएका छन्।
‘उक्त नियममा स्ववियु कार्यसमितिको पदावधि निर्वाचन भएको मितिले साधारणतया दुई वर्षको हुनेछ तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा बढीमा ६/६ महिनाका लागि कार्यसमितिको पदावधि त्रिवि कार्यकारी परिषद्ले थप गर्न सक्नेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै विश्वविद्यालयले विद्यार्थीको आधिकारिक साझा संस्थाको अस्तित्व नामेट पार्ने जस्तो घातक निर्णय लिएकोप्रति हाम्रो घोर आपत्ति छ,’विज्ञप्तिमा उल्लेख छ।
निर्देशिकाको १३(४) मा भएको या नभएको भन्ने शब्द राखी स्ववियु निर्वाचनलाई विवादित बनाउने र विश्वविद्यालयलाई विद्यार्थी प्रतिनिधि विहीन बनाएर चलाउने प्रपञ्च रच्नु त्रिवि कार्यकारी परिषद्को गलत नियत रहेको विज्ञप्तिमा उल्लेख छ।
‘माघ २४ मा अधिकार सम्पन्न विश्वविद्यालय सभाको बैठक माग गर्दै उपकुलपतिमार्फत कुलपतिलाई हामीले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा विश्वविद्यालय सभाको काम कर्तव्य र अधिकार कार्यकारी परिषदले प्रयोग गर्न खोज्नुले कार्यकारी परिषद्को दूषित मनसाय प्रष्ट झल्किन्छ, अधिकार क्षेत्रभन्दा बाहिर गई त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णय सच्याउन र आजसम्म हामीले राखेका विद्यार्थीसँग सम्बन्धित सबै माग सम्बोधन गर्न अनुरोध गर्दछौँ,’विज्ञप्तिमा उल्लेख छ।
त्रिवि भन्छ : तोकिएकै समयमा निर्वाचन हुन्छ
त्रिविले भने तोकिएकै समय(चैत ५) गते देशैभरी स्ववियु निर्वाचन हुने जनाएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तोकिएकै समयमा निर्वाचन हुने जानकारी दिए।
उनले भने, ‘विद्यार्थी संगठनहरूकै सहमतिमा चैत ५ गते निर्वाचन समय तोकिएको हो। त्यसैले यही समयमा निर्वाचन हुन्छ र गराउनुपर्छ,यसमा सबैले साथ दिनुपर्छ,केही असहमति भए शान्तिपूर्ण ढंगले खुला छलफल गरी समस्या समाधान निकाल्नुपर्छ।’
एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने माग गरेका छन्। ‘स्ववियु निर्वाचन प्रत्येक २ वर्षमा गराउनु त्रिविको दायित्व हो, विद्यार्थी आन्दोलनको रक्षा गर्ने हो भने चैत्र ५ गते निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्छ, २ वर्षका लागि चुनिएका विद्यार्थी सिनेटहरूले समयमै निर्वाचन नगर्नु लज्जास्पद छ,’उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो। तर,विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको जनाएको छ। यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो।
प्रत्येक दुई दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने व्यवस्था छ। तर उक्त निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्यतिवेला नौवटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ। निर्देशिकाअनुसार सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
निर्देशिकाको दफा ६ को मतदाता नामावली र उमेदवारको योग्यतासम्बन्धी व्यवस्थामा भनिएको छ,‘कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनको कुनै पनि प्रकृयामा सहभागी हुन पाउने छैनन्, प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता नामावलीमा समावेश गरिने छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।