इलाम : टाइब्रेकरमा जित निकाल्दै नेपाली पुलिस क्लब इलाममा जारी अन्ताराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बागमती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै पुलिसले अन्तिम ४ मा स्थान बनाएको हो। पुलिसले खेल अवधिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नु पर्यो। खेलको ५५ औँ मिनेटमा बागमतीको खेलाडीको डिबक्सभित्र ह्यान्डबल भएपछि पाएको पेनाल्टीलाई पूजा रानाले सदुपयोग गर्न सकिनन्। उनको प्रहार आकासिएको थियो। पुलिसलाई अन्तिम ४ मा पुर्याउन गोलरक्षक उषा नाथ नायक बनिन्।
उनले बागमतीको २ वटा प्रहारलाई बचाएकी थिइन्। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरतर्फ खेल धकेलिएको थियो। पुलिसका लागि रेविका पाण्डे, बिर्सना चौधरी र गोलरक्षक उषा नाथले गोल गरिन् भने कप्तान निरू थापाको प्रहार आकासिएको थियो।
यसैगरी बागमतीका लागि सलोनी राना मगरको प्रहारमात्र गोलमा परिणत भएको थियो। सेमिहाङमा लिम्बूको प्रहार बाहिरिँदा विष्णुमाया बल र अञ्जलि खवासको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले रोकेकी थिइन्।
दुईवटा प्रहार रोकेकी पुलिसकी गोलरक्षक उषा नाथ प्लेयर अफ दि म्याच बनिन्। उनलाई इलाम नगरपालिकाकी नगर उपप्रमुख विष्णु दाहालले नगद ५ हजार र ट्रफी प्रदान गरिन्।
तेस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँग तेस्रो क्वाटरफाइनल खेल्नेछ। फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख र ट्रफी प्राप्त गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।