वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रूसी राष्ट्रपति पुटिनसँग वार्ताका क्रममा युक्रेनी सेनालाई ज्यान बकस दिन माग गरेका छन्।
ट्रम्पले पुटिनसँगको कुराकानीले युक्रेनमा युद्ध अन्त्य गर्ने बाटो खोल्न सक्ने बताएका छन्। युक्रेनमा युद्ध रोक्ने विषयमा छलफल गर्नुका साथै ट्रम्पले पुटिनलाई रूसी सेनाले घेरेका युक्रेनी सैनिकलाई ज्यान बकस दिन पनि आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेर यो जानकारी दिएका हुन्।
यसै वर्ष जनवरीमा अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले रूसी राष्ट्रपति पुटिनसँग लगातार सम्पर्क राखेका छन्। ट्रम्प र पुटिनबीच वार्ता भइरहँदा साउदी अरबमा दुवै देशका उच्च अधिकारीबीच भेटघाट पनि भएको छ। यसैबीच ट्रम्पले पुटिनसँगको वार्ताको बारेमा फेरि जानकारी दिएका छन्।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो हामीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै राम्रो र अर्थपूर्ण कुराकानी गरेका थियौँ। मलाई यो रक्तपातपूर्ण युद्ध समाप्त हुने आशा छ। तर हजारौँ युक्रेनी सैनिक रूसी सेनाद्वारा घेरिएका छन्। युक्रेनी सेना युद्धमा धेरै खराब र कमजोर स्थितिमा छन्। मैले राष्ट्रपति पुटिनलाई उनीहरूको जीवन बचाउन अनुरोध गरेको छु। यो दोस्रो विश्वयुद्ध पछि नदेखेको भयानक नरसंहार हुनेछ।’
युक्रेन युद्धलाई लिएर रूस, युक्रेन र अमेरिकाबाट लगातार बयान आइरहेका छन्। बिहीबार रूसी राष्ट्रपति पुटिनले युद्धविरामका लागि अमेरिकाको आह्वानमा प्रतिक्रिया दिँदै आफू युद्ध रोक्न तयार भएको तर रूसको चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
पुटिनले भने, ‘हामी युक्रेनसँगको युद्धविरामको प्रस्तावसँग सहमत छौँ तर यो युद्धविरामले स्थायी शान्ति हओस् भन्ने चाहन्छौँ। संकटको मूल कारणलाई सम्बोधन गर्नुपर्छ।’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले वास्तविक समाधान खोज्नुको सट्टा युद्ध लम्ब्याउन खोजेको बताएका छन्। जेलेन्स्कीले भने, ‘रूसको कुनै पनि प्रस्तावमा विश्वले कुनै अर्थपूर्ण प्रतिक्रिया नपाउनु दुर्भाग्यपूर्ण छ। यसले रूस युद्धलाई लम्ब्याउन चाहन्छ भन्ने देखाउँछ।’
ट्रम्पका विशेष दूतले पुटिनसँग पनि भेट गरेका छन्। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति पुटिनसँग मस्कोमा भेट गरेको पुष्ट गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस बैठकपछि पुटिन र ट्रम्पबीच छिट्टै भेट हुन सक्ने बताए। दुवै नेताले भेटेर छलफल गर्न सहमत भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।