सजिलो छैन पात्रो निकाल्ने काम

|

यो वर्ष पहिलोपटक पात्रो (पञ्चाङ्ग) निकालेका ज्योतिषी डा. नारायणप्रसाद निरौला अर्को वर्षका लागि जुटिसकेका छन्। उनले गणना गरेको ‘आर्यावर्तपञ्चाङ्गम् २०८२’ आइसकेको छ। नयाँ पात्रोका प्रचारका लागि जति व्यस्त छन्, त्यति नै चिन्ता उनलाई २०८३ सालको पात्रोको छ।

सामान्यतया माघको अन्तिम वा फागुनको शुरुसम्ममा अर्को (नयाँ) वर्षको पात्रो बजारमा आइसक्छ। कम्तीमा ६० देखि बढीमा १०० पेजसम्मको पात्रोका लागि पञ्चाङ्गकार वर्षभरि नै लागिरहेका हुन्छन्।

के हो पञ्चाङ्ग ?

सनातन धर्मकर्म चान्द्रयुक्त सौरमासमा गर्नुपर्ने मान्यता छ। नेपालमा धार्मिक एवं साँस्कृतिक कार्य सौरमानको विक्रम संवत् र चान्द्रमानको शालिवाहनीय शाके (६० संवत्सरयुक्त) पात्रोको आधारमा चल्ने गरेको छ। चान्द्रगणनाअनुसार चैत्र शुक्ल (यो वर्ष चैत १७ गते) प्रतिपदामा नयाँ वर्ष लाग्छ, सौरमानअनुसार वैशाख १ गते।

ज्योतिषशास्त्र अनुसार तिथि, बार नक्षत्र योग र करणका समूहलाई पञ्चाङ्ग (पाँच अङ्ग) भनिन्छ। तिनैको गणना गरी ज्योतिषीहरूले पञ्चाङ्ग निकाल्ने गर्छन्। सनातन धर्मका चाडपर्व-साइत आदिको निर्धारण पञ्चाङ्गबाट नै हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्। ग्रहको अवस्था (उदय-अस्त, ग्रहण आदि) पञ्चाङ्गबाट नै जानकारी हुन्छ। 

‘पञ्चाङ्गले सनातन धर्मसंस्कृतिलाई दिशानिर्देश गरेको हुन्छ। पञ्चाङ्गको गणनाविना न त चाडपर्वको निर्णय हुन्छ। न त विवाह व्रतबन्ध आदिको मुहूर्त्त नै निस्किन्छ।’ अधिकारी भन्छन्’, न त सूर्यचन्द्रको ग्रहण र बृहस्पति शुक्र अस्तको समय निस्किन्छ।’ 

नेपालमा पञ्चाङ्गको व्यवस्थापन गर्ने काम गर्दै समितिले गर्दै आएको छ। पात्रोमा देखिएको विविधता अन्त्य गर्न भन्दै २०२५ सालमा राजकीय पञ्चाङ्ग निर्णायक समितिका नाममा स्थापित समिति अहिले पञ्चाङ्ग निर्णायक विकास समितिको नाममा क्रियाशील छ। समितिले पञ्चाङ्गकारहरूको जमघट गराइदिएर सबैबीच एकरूपता ल्याउने काम गर्छ।

यस्तो छ प्रक्रिया 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार साउनतिर पञ्चाङ्ग दर्ताका लागि आह्वान गर्छ, एक महिनाको समय दिएर। पात्रोको स्वीकृति पाउन पञ्चाङ्गकारले निश्चित शुल्क बुझाउनुपर्छ। ‘नियमित पात्रो निकाल्नेलाई एक हजार रुपैयाँ तोकिएको छ भने नयाँ पञ्चाङ्गकारले १० हजार रुपैयाँ बुझाउनुपर्छ’, उनले भने। 

नयाँ पञ्चाङ्गकारले निकाल्न लागेको वर्षसहित कम्तीमा तीन वर्षको पात्रोको गणनाको ‘कपी’ बुझाउनुपर्छ। ‘पञ्चाङ्गकार कतिको सक्षम रहेछ भन्ने हेर्न पनि यो व्यवस्था गरिएको हो’, अघिल्लो वर्ष पञ्चाङ्ग निकालिरहेकाहरूले भने पर्दैन।’

समितिले आह्वान गर्दासम्म पञ्चाङ्गको खाका तयार पारिसकेका हुन्छन्। आफूले तयार पारेको पात्रो पञ्चाङ्गसहित। भदौ र असोजमा सामान्य छलफल भए पनि ठूला चाडपर्वका कारण गति भने मंसिरदेखि मात्र लिन्छ। समितिका पदाधिकारीसहितको छलफलमा पञ्चाङ्गकर्ता आफ्नो गणनासहित बसेका हुन्छन्। एकरूपता ल्याउन अंक-अंक केलाउनुपर्छ। 

तिथि नक्षत्र योग करणको घडीपलामा एकरूपता आएसँगै त्यसपछि ग्रहहरूको अवस्था (राशि-अंशा-कला–विकला) अस्त-उदय आदिको रुजु गरिन्छ। त्यससँगै सूर्यचन्द्रको ग्रहण आदि पक्षको विचार गरिन्छ। त्यसँगै वर्षभर पर्ने विवाह-व्रतबन्ध-अन्नप्राशन आदिको निर्णय लिइन्छ।

चाडपर्वमा सामान्य अवस्था रहँदा जुन तिथिमा मनाउने हो। घडीपला तलमाथि हुँदा पहिलेका नियम पछ्याइन्छ। ‘विविधता  देखिए धर्मशास्त्र, तन्त्र आदिका विषयविज्ञ बोलाइन्छ। ती विषयका ठेली पल्टाइन्छ’, अध्यक्ष अधिकारी भन्छन्, ‘विज्ञले दिएको तर्कमा आश्वस्त भएपछि मात्र तिथिपर्वको निर्णय हुन्छ।’ चाडपर्व तय गर्न विभिन्न जाति-सम्प्रदाय आदिका विज्ञसमेत बोलाउने गरेको उनले बताए। ‘पात्रो रुजु गर्न नै १५/२० दिन लाग्छ’, समितिका अध्यक्ष भन्छन्, ‘सजिलो छैन, गल्ती जाला भनेर एक-एक गरेर पढ्नुपर्छ।’

भदौसम्मको म्याद पाए पनि त्यसपछिका ठूला चाडपर्वका कारण मंसिरमा धकेलिन्छ। त्यसपछि अलि तातो लाग्छ। ‘मंसिरदेखि हरेक दिनजसो बैठक बसेर छलफल हुन्छ’, ढुंगेल भन्छन्, ‘प्रत्येक दिनजसो पञ्चाङ्गकारहरूसँग बसेर छलफल चलाउँछौँ। कहिले को, नआउने कहिले को नआउने गर्दा पनि लम्बिने अधिकारी बताउँछन्। 

२०८२ का लागि १८ वटा पात्रोले समितिबाट स्वीकृति पाएका छन्। अध्यक्ष अधिकारीका अनुसार तीमध्ये १४ वटा पुराना हुन् भने चारवटा नयाँ। ​नयाँका लागि परीक्षणकालको समेत प्रावधान राखिएको छ। पञ्चाङ्गकार कतिको दक्ष भन्ने जाँचका लागि यो व्यवस्था गरिएको अध्यक्ष अधिकारी बताउँछन्।

योग्यता कति ?

स्वाध्यायन गरेकादेखि विद्यावारिधि (पीएचडी) गरेकासम्मले पात्रो प्रकाशन गर्ने गरेको कार्यकारी निर्देशक ढु‌ंगेल बताउँछन्। बाबुबाजेबाट सिकेर उनीहरूको पदचाप पछ्याउने पुराना पुस्तादेखि ज्योतिषशास्त्रमै उपाधि लिएका नयाँ पुस्ताले समेत पात्रो प्रकाशन गरिरहेका छन्।

सजिलो छैन 

पात्रो निकाल्ने काम सजिलो छैन धेरै मेहेनत गर्नुपर्छ। निरौलाले २०८३ का लागि तयारी शुरु गरिसकेका छन्। आफूले पात्रो लगभग वैशाखदेखि नै गणना शुरु गर्ने गरेको सूर्य पञ्चाङ्गका सुबोध ढुंगेलले बताए। बाबुराम पञ्चाङ्गका विश्वराम शर्माले भने जेठबाट गणना शुरु गर्ने गरेको सुनाए। 

‘समितिले सूचना निकाल्दा लगभग हिसाब सकिसकेको हुन्छु’ ढुंगेलले भने। समितिबाट स्वीकृति पाइसकेपछि कम्युटर डिजाइन शुद्धाशुद्धि र छापिँदासम्म धेरै खर्च हुने निरौला बताउँछन्। पहिलोपटक पात्रो छाप्न त फलामको चिउरा चपाएजस्तै हो’, निरौलाले भने, ‘दर्ताशुल्कदेखि अघिल्ला र आमागी वर्षका पात्रो पेश गर्नुपर्ने बाध्यता छ।

पात्रोको परिमार्जन

समितिले वेलावेला परिमार्जन गर्दै आएको समितिका अधिकारी बताउँछन्। ‘पहिले सारिणीबाट गणना गरिन्थ्यो। अनि सूर्यसिद्धान्त अँगालियो। २०८२ सालमा केतकी पद्धतिमा गएका छौँ’, उनले भने।

समितिसँग अनुमति नै नलिई पनि निस्कन्छ पात्रो

समितिसँग आबद्ध नरहेर पनि पञ्चाङ्ग निस्कने गरेको छ। उनीहरूले आफ्नै  तरिकाले गणना गरी चाडपर्व मुहूर्त आदिको निर्णय लिई पञ्चाङ्ग निकाल्ने गरेका छन्। समितिले भने आफूबाट स्वीकृति नलिएका पञ्चाङ्ग प्रामाणिक नहुने भएकाले प्रयोग नगर्न अनुरोध गर्ने गरेको छ।

छुट्टै वैदिक तिथिपत्र

वैदिक कर्मका लागि भन्दै स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक पात्रो प्रकाशन गरिरहेको छ। यसलाई पञ्चाङ्ग नभनेर तिथिपत्रम् भनिएको छ। वैदिक कालगणनासिद्धान्त युग ऋतु वर्ष मास, तिथि नक्षत्र आदिको ‘वैदिक तिथिपत्रम्’का सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन्। बारका साथै योग र करणजस्ता पक्ष नहुने भएकाले यसलाई पञ्चाङ्ग भनिँदैन।

उनका अनुसार यो वैदिक कालगणनामा तिथि अहोरात्र (एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म)  हुन्छ। अरु तिथि टुट्दैनन्। वर्षमा ६ वटा कृष्णपक्षका चतुर्दशी टुट्छन्।

लगधमुनिको वेदांग ज्योतिष ग्रन्थलाई आधार मानेर यसको गणना गरिन्छ। वैदिक नयाँ वर्ष अहिलेको मंसिर वा पुस महिनामा पर्छ। ‘सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन (सायन सूर्य) अर्थात् पुस ७ गते शुक्लपक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्छ’, कौण्डिन्न्यायन भन्छन्, ‘कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस कृष्णपक्षभन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष शुरु हुन्छ।’ 

यद्यपि सर्वसाधारणको सजिलोका लागि अहिलेको पञ्चाङ्गलाई समेत तिथिपत्रमा समेटेको उनले जानकारी दिए।

आकर्षक बनाउने प्रतिस्पर्धा

नेपालमा अहिले १९४६ सालदेखि छापिरहेको तोयनाथ पञ्चाङ्गदेखि पछि छापिन थालेका बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग र सूर्य पञ्चाङ्ग बढी हेरिने पञ्चाङ्गमा पर्छन्। नयाँ पनि आउने क्रम रहेकाले त्यसैले पनि आफ्नो पात्रो आकर्षक बनाउन र बजारमा चाँडो पुर्‍याउन पञ्चाङ्गकारबीच प्रतिस्पर्धा चल्छ। राशिफलदेखि दैनिक जीवनमा आवश्यक पर्ने साइत आदि जानकारी बढीभन्दा बढी समावेश गर्ने प्रतिस्पर्धा छ।

‘श्रम र समय खर्च भएको हुन्छ’, त्यसैले आफ्नो पात्रो बढीभन्दा बढी मानिसकोमा पुगोस् भन्ने अपेक्षा हुन्छ’, निरौला भन्छन्।

नेपालमा पञ्चाङ्गको इतिहास

ज्योतिषलाई वेदकै अंग मानिएको छ। त्यसैले सनातन समाजजतिकै पुरानो छ, पञ्चाङ्ग वा तिथिपत्र लेखनको चलन। नेपालमा पहिले पहिले गाउँ-गाउँमै नेपाली कागजलाई मोडेर पात्रो बनाइन्थ्यो, जसलाई मुडे पात्रो भनिन्थ्यो। त्यस्ता मुडे पात्रामा प्रायः तिथि, नक्षत्र योग र बारमात्रै लेखिन्थ्यो, गते हुँदैनथ्यो। ज्योतिषी एक दुई महिनाको पात्रो गन्ने गर्थे। अर्कोतिर केही ज्योतिषीले पात्रो बनाएर गाउँका ठूलाबडालाई उपलब्ध गराउँथे। सर्वसाधारण उनीहरूकोमा गएर तिथिपर्व ​हेर्थे।

राष्ट्रिय अभिलेखालयकी अनुसन्धान अधिकृत मनिता न्यौपानेका अनुसार वि.सं. १९४१ देखि भने छापाको पात्रो प्रकाशित हुन थालेको इतिहास छ। नेपालमा पहिलो पात्रो ज्योतिषी जीवनाथको नाममा निस्किएको थियो। अहिलेसम्म छापिएका लगभग सबै पात्रो काठमाडौं सिंहदरबारस्थित राष्ट्रिय अभिलेखालयमा पाउन सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.