|

बाँके : बाँकेको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भएको छ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ मा रहेको जयन्दु बाल सुधार गृहमा गएराति पौने २ बजेदेखि तनावग्रस्त अवस्था भएको र पछि झडपको रुप लिएको हो।

उक्त झडप आज अपराह्न मात्रै नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। हिजो दिउँसोदेखि सुरु भएको दुई समूहबीचको विवाद बढ्दै जाँदा सुधार गृहमा रहेका बालकहरूबीच कुटाकुट भएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले घाइते भएका ५ जनाको भेरी अस्पताल र एक जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको जोशीले बताए। उक्त घटनामा ३ जना प्रहरी पनि घाइते भएका छन्। सामान्य घाइते भएकाहरू फर्कीसकेका छन्।

बिहान बाल सुधार गृहमा भएको झडप नियन्त्रण गर्न नसक्दा आज बालसुधार गृहमै आगजनीसमेत भएको छ।

सुधार गृहको भुइँतलामा आगजनी गरेर सबैभन्दा माथिल्लो तलामा बसेका बालकहरूले हथौडा र रडको प्रयोग गरी भवनको गाह्रो भत्काएर प्रहरीमाथि आक्रमण गरेका कारण नियन्त्रणमा लिन कठिन भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

बालकहरुले गरेको आगजनीका कारण सुधार गृहको भुइँतल्ला जलेर काम नलाग्ने अवस्थामा पुगेको उनले बताए।

सुधार गृहमा कुल २५५ जना बालक छन् । उनीहरूको सुरक्षाका लागि सादा पोसाकका जम्मा १२ जना मात्रै प्रहरी खटिएका छन्। बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने व्यवस्था भएकाले त्यहाँ खटिँदा प्रहरीले हतियार पनि बोक्न नपाउने प्रावधान छ।

त्यसैको फाइदा उठाएर सुधार गृहभित्र अराजक गतिविधि हुने गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.