काठमाडौं : नेपाल प्रहरी भोलिदेखि नेतृत्वविहीन बन्दैछ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अवकाशमा जान एक दिन अघिसम्म पनि भावी महानिरीक्षकको टुंगो लागेको छैन।
प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको छ। झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीनको अवस्थामा छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर ३० वर्ष सेवाअवधि पुरा गरेर भोलि अर्थात् चैत ४ गते अवकाशमा जान लागेका हुन्। तर, आन्तरिक सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीमा आगामी नेतृत्व कसलाई दिने भन्ने सरकारले अझै टुंगो लगाएको छैन। सम्भवत: भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले भावी आइजीपीको टुंगो लगाउने छ।
अवकाशमा जाने एक महिना अघि नै विदामा बसेर नयाँ आउने नेतृत्वलाई संगठन बारे बुझ्न निमित्त दिने परम्परा नेपाली सेनामा छ। तर प्रहरीमा भने राजनीतिक दाउपेच र प्रतिस्पर्धीबीचको अस्वस्थ प्रतिस्पर्धा गराउने सरकारी नियतका कारण अझै भावी महानिरीक्षक को बन्ने भन्ने टुंगो नलागेको हो।
३१ औं प्रहरी महानिरीक्षकका लागि अहिले तीन एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।