|

काठमाडौं : आउँदो चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। विद्यार्थीहरूले आफ्नो नेतृत्व आफैँ छान्ने यस चुनावमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

उक्त निर्वाचनमा विभिन्न राजनीतिक दलमा आबद्ध विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पदमा आफूलाई अगाडि सारेका छन्।

कुनै क्याम्पसमा भने तालाबन्दी र झडपका घटना पनि भएका छन्। कतै तालाबन्दी र कतै उम्मेदवार घोषणा ढिलाई हुँदा धेरै क्याम्पसमा निर्वाचन हुनेमा शंका देखिएको छ।

कतिपय क्याम्पसमा भने विभिन्न उम्मेदवारहरू निर्विरोध चुनिएका छन्। विद्यार्थीको हक हितमा काम गर्ने भनिए पनि विद्यार्थी संगठनहरूले राजनीतिक दलको पक्षपोषण गर्ने र स्ववियूको मर्म नै मास्ने काम गरिरहेको कतिपयको बुझाई छ।

आरआर कलेजका एक विद्यार्थीले विद्यार्थी संगठनले स्ववियूको औचित्यमाथि आक्रमण गरिरहेको सुनाउँछन्।

‘हरेक दुई वर्षमा हुनुपर्ने निर्वाचन पनि समयमा हुँदैन। विद्यार्थीको हकहितभन्दा पार्टीको झोला बोक्नेहरूका कारण निर्वाचनको औचित्य देखिँदैन’, समाचारमा नाम नराख्ने शर्तमा उनले भने, ‘विद्यार्थी नेताहरूले हाम्रोबारे काम गरिदिएको भए हरेक वर्ष विश्वविद्यालयका कक्षाहरू खाली हुँदैनथे।‘

विश्वविद्यालयका कक्षाहरू खाली हुनुमा विद्यार्थी नेताहरू पनि एउटा कारण रहेको उनले बताए।

‘वेलामा परीक्षा हुँदैन। रिजल्ट पनि आउँदैन। विद्यार्थीको गुनासो सुन्ने विद्यार्थी नेताहरू छैनन्’, उनले भने, ‘अनि चुनावमा चिल्ला एजेण्डा राखेर मात्र हुन्छ?’

यसै पनि विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको लर्को लाग्दा नेपालका विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको छ। पढ्ने विद्यार्थीहरू क्रमश: घट्दै जाँदा विश्वविद्यालयमा कक्षाहरू सुनसान बनेका छन्।

राज्यले विद्यार्थीहरूलाई स्वदेशमा रोक्न नसकेको भन्दै अहिले सार्वजनिक रूपमा सरकारप्रति आक्रोश प्रकट भइरहेको छ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा उप-प्राध्यापक प्रेम चलाउनेले केही समयअगाडि पंक्तिकारलाई भनेका थिए, ‘हाम्रो संरचनाले विद्यार्थीहरूलाई अन्योलग्रस्त बनाएको छ। आफ्नो भविष्य देशमा देख्न नसक्दा युवाहरू विदेश पढ्न जाने गरेका छन्।

हाम्रा विश्वविद्यालयहरू विद्यार्थीभन्दा कार्यकर्ता भर्ती गर्ने अखडा बनाउन नेतृत्वहरू लाग्दा पढेर केही गर्छु भन्ने विद्यार्थीहरूले यहाँ भविष्य देख्न नसकेको उनले बताए।

‘हाम्रा क्याम्पस तथा विश्वविद्यालयमा विद्यार्थीभन्दा कार्यकर्ताहरू भर्ना हुन्छन्। उनीहरूको चेपुवामा पर्ने विद्यार्थीहरूले कसरी आफूलाई सुरक्षित महसुस गर्लान् त?’, उनले भने।

अहिले स्ववियू निर्वाचनको पूर्व संन्ध्यामा विभिन्न क्याम्पसमा तालाबन्दीको घटनालाई लिएर संसदमा पनि प्रश्न उठेको छ।

विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी’

विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी भएको भन्दै सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको टिप्पणी गर्छन्।  

उनले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद् भएको जिकिर गरे। चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उनको भनाइ थियो ।

‘नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ’, उनले भने, ‘क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु हुँदैन।‘

वैदेशिक अध्ययनमा कति विद्यार्थी र रकम बाहिरियो?

पछिल्लो ५ वर्षमा मात्र देशबाट करिब ४ लाखले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको देखिन्छ।

हरेक वर्ष वैदेशिक अध्ययनका लागि भन्दै विदेशिने नेपाली युवाको संख्या बढ्दै गएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको तथ्यांकअनुसार ०७६/७७ मा ३३ हजार १९७ जना, ०७७/७८ मा २८ हजार ८८३ जना, ०७८/७९ मा १ लाख १२ हजार ९६८ जना, ०७९/८० मा १ लाख १० हजार २१७ र ०८०/८१ मा १ लाख १२ हजार ९६८ जना नेपाली विद्यार्थीले अनुमति पत्र लिएका थिए।  

चालू आवको ७ महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ बराबर पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.