|

सोलुखुम्बु : ‘यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन। कैयौँ घरमा क्षति पुर्‍याएको छ। हावाले रुख जराबाटै पल्टिन थाल्यो। डाँडा हावाले फुकेर फुङ्ग हुँदै गएको छ’, सोलुदुधकुण्ड नगरपालिका- ७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाको भनाइ हो यो। 

सोलुखुम्बुमा अस्वाभाविक गतिमा चलेको हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनामा ठूलो क्षति पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत माघको अन्त्यदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन्। २० वटा निजी घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

१० वटा निजी घर तथा संरचना, दुई गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ। सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। 

‘अघिल्ला वर्ष यस्तो ठूलो क्षति पुर्‍याएको थिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठूलो मात्रामा क्षति पुर्‍याउन थालेको छ’, प्रनाउ घिमिरेले भने।  हावाहुरीका कारण कतिपय स्थानमा रुख जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ। 

लाइन विस्तार भएका क्षेत्रमा रुख ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताए। 

हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ। घरका छानो उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताए। जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ। 

तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.