काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ।
गएराति रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली एट्लेटिको मड्रिडविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजको गोलबाट एट्लेटिको मड्रिडले अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले अग्रता बनाएको एट्लेटिकोले ७०औँ मिनेटमा अलेक्जेण्डर सोर्लोथको गोलबाट अग्रता दोब्बर बनायो। त्यसपछि भने बार्सिलोना नाटकीय रुपमा खेलमा फर्कियो। ७२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै गोलअन्तर २–१ मा ल्याए।
७८औँ मिनेटमा फेरान टोरेसले गोल थपे र खेलमा २–२ को बराबरी गरे। इन्जुरी समयमा लामिन यामलले गोल थपेपछि ३–२ गोलको अग्रता बनाउन सफल बार्सिलानाका लागि टोरेसले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेर ४–२ गोलअन्तरको जित निकाले।
यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ। उसले २७ खेलबाट ६० अंक जोड्दा २८ खेलबाट समान ६० अंक भएको रियल मड्रिड दोस्रो स्थानमा झ¥यो। बार्सिलोनासँग पराजित भएको एट्लेटिको भने २८ खेलबाट ५६ अंकसहित तेस्रो स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।