|

काठमाडौं : आम चासोको रुपमा हेरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यो हिउँदे अधिवेशनमा पेस नहुने देखिएको छ। सरकारले संसदको हिउँदे अधिवेशन यही चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ।

तर,उक्त विधेयकमाथिको आवश्यक दफावार छलफल र अन्य प्रक्रिया अझै पूरा हुन सकेको छैन। त्यसो त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिले यसअघि हिउँदे अधिवेशनमा शिक्षा विधेयक पेस गने लक्ष्य लिए पनि त्यो सम्भावना कम हुँदै गएको छ।

वर्षौंदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसद्बाट पारित भई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो।

तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको एक वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्‍याउन सकेको छैन। जुनसुकै दलका सरकार आए पनि ‘छिटो शिक्षा विधेयक पारित हुने वाचा’ गर्ने तर,पारित भने गर्न सकिरहेका छैनन्।

त्यसो त उनीहरूको बोलीमा सत्यता मिलेको छैन। पछिल्लो समय भने उक्त विधेयकमाथि दफाबार छलफल सुरू हुन थालेको छ। तर,समितिबाट छिटाे टुंगोमा पुग्ने कुनै छाँटकाँट छैन। 

तत्काल विधेयक जारी गर्न दबाब

सरकारले वर्षौं बितिसक्दा पनि शिक्षा विधेयक जारी नगरेपछि छिटो जारी गर्न शिक्षक संगठनहरूले भने दबाव दिइरहेका छन्। नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक लगायत शिक्षक संगठनहरूले आन्दोलन जारी राखेका छन्। नेपाल शिक्षक महासंघको आन्दोलन हालसम्म पनि जारी छ।

महासंघले विगतका सबै सहमति सम्बोधन हुने गरि विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई बाध्य पार्न भन्दै गत माघ १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेका थियो। शिक्षक, कर्मचारीहरूले उक्त दिन फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गरेका थिए।

उनीहरूले फागुन २४ गते माइतघीघर मण्डलामा वृहत् जुलुस तथा विरोधसभा आयोजना गरे। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार अहिले विरोध स्वरूप विभिन्न राजनीतिक दलका कार्यालयमा घेराउ गर्दै आएका छन्।

महासंघका अध्यक्ष सुवेदीले एसइई परीक्षा सकिएपछि भने सबै पठनपाठन बन्द गरेर काठमाडौंमा अनिश्चित कालीन आन्दोलन गर्ने जानकारी दिए। उनका अनुसार चैत २० गतेबाट देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आइ सडक आन्दोलनमा सहभागी हुने छन्।

शिक्षकहरूले २०८० असोज ३ गतेदेखि सरकारले यी नै संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरूद्ध असन्तुष्टि जनाउँदै काठमाडौं माइतीघर मण्डलामा शक्ति प्रदर्शन गरेका थिए।

देशभरका शिक्षकहरूले सामुदायिक विद्यालय नै बन्द गरेर काठमाडौं आएर झण्डै दुई सातासम्म विरोध प्रदर्शन गरेपछि सरकार बाध्य भएर छलफलमा बोलाएर विभिन्न सहमति गरेपछि आन्दोलन रोकिएको थियो।

समितिका सभापति भन्छन् : हिउँदे अधिवेशनमा पेस नभए असारपछि

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले यो हिउँदे अधिवेशनमा पेस गर्न प्रयास गर्ने,नभएमा असारपछि पेस हुने  जानकारी दिए। ‘हामीले चाहि सकेसम्म यही हिउँदे अधिवेशनमै पेस गर्ने प्रयास गर्दै छौँ,सकिएन भने अब असारपछि संसदमा पेस गर्छौ,’उनले भने।

समितिका सचिव दशरथ धमलाका अनुसार उक्त विधेयकमाथिको प्रदेशस्तरीय छलफल सकिसकिएको छ। समितिले पुस ९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलोपटक प्रदेश स्तरीय छलफल थालेको थियो। अहिले यसमाथि दफाबार छलफल भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.