|

विराटनगर : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापोको जीवनमा आधारित चलचित्र ‘अन्जिला’मा दुःख र सुख दुवै क्षणलाई अनुभूति गर्न सकिन्छ।

त्यसो त यो फिल्ममा एन्जिलाको भोगाइले मन दुखेर दर्शकको आँसु छल्किनु र उनको सफलतामा सुखको अनुभूति गर्दै मुस्कुराउनुले पनि जीवनको एउटा पाठ सिकाउने चलचित्र बनेको छ।

फिल्म सकिएपछि हलबाट बाहिरिदै गर्दा दर्शकले आँसु पुछ्दै भन्दै थिए, ‘दुःखपछिको सुख त एन्जिलाको जस्तो होस्।’

अभावले मान्छेको सपना र खुसी कसरी लुटिदिन्छ र धैर्यले सफलताको शिखरमा पनि पुग्न सकिन्छ भन्ने भाव यो फिल्ममा छ। साधारण मान्छे धैर्य र आत्मबलले कसरी असाधारण मान्छे बन्न सक्छ भन्ने फिल्मले समग्रमा जीवनको परिभाषा दर्शाउँछ।
आमाबुवाको झगडा र बिछोडले सन्तानको जीवनमा कस्तो प्रभाव पार्छ ? बाल मनोविज्ञानलाई पनि निर्देशकले जोड्न खोजका छन्। बुवाको माया र साथबाट टाढिएर आमा, दाजुसँग हुर्किएकी एन्जिलाको जीवन ‘फुटबल’मा अड्किएको हुन्छ। फिल्मको सुरुमै बाल्यकालमा सुन्तला बेचेर मोजा किन्दै फुटबल खेलेको दृश्यले पनि महसुस गर्न सकिन्छ एन्जिलाको सपना सामान्य थिएन र छैन।

फिल्ममा दयाहाङ राई ‘चन्द्रे साहु’ अर्थात् एन्जिलाको कर्म दिने बुवा उनी जिप साहु हुन्छन्। चन्द्रे साहुले कौशिला (सृजना सुब्बा अर्थात् एन्जिलाकी आमा)लाई आँखा लगाएका हुन्छन् तर चन्द्रे साहुको घरमा श्रीमती र छोराछोरी हुन्छन्। कौशिलाको भट्टीपसल हुन्छ, रक्सी खाने बहानामा चन्द्रे साहु पुगिरहेकै हुन्छन्। पसलमा पुगेर रक्सी खाँदै कौशिलालाई चन्द्रे साहुले जिस्काउनु श्रीमान् नभएका कारण हेपेको जस्तो महसुस हुन्छ।

फुटबल खेल्ने क्रममा एन्जिलाको खुट्टा मर्किदा चन्द्रे साहुले नै उनलाई इलाम अस्पताल पुर्‍याउँछन्। अस्पतालमा एन्जिलालाई चन्द्रे साहुले गरेको माया र स्याहार बुवाको भन्दा कम हुँदैन। चन्द्रे साहुले एन्जिलालाई गरेको व्यवहारले पनि कताकता कौशिलाको मन फर्किन्छ।

दुई दिनको अस्पताल बसाइँपछि कौशिला घर फर्किदा उनका पूर्व श्रीमान् (माओत्से गुरुङ) घरमा आएका हुन्छन्। विरामी छोरी च्यापेर अस्पताल पुगेको चन्द्रे साहु र कौशिलाले समाजमा पवित्र सम्बन्धको प्रमाण पेस गर्नुपर्ने बाध्यता सृजना हुन्छ।

समाज र श्रीमानले दुईजनाको सम्बन्धमा जबरजस्ती दाग लगाइदिन्छन्। 

श्रीमानको साथबाट टाढा भएर एक्लै जीवन बाँचिरहेका महिलालाई समाजले सजिलै बाँच्न दिँदैनन् भन्ने भाव यो क्षणमा महसुस गर्न सकिन्छ। किनभने पवित्र सम्बन्धमा समाज र आफ्नै परिवारले अपवित्र प्रमाणित गरेपछि कौशिला चन्द्रे साहुकी हुन बाध्य हुन्छिन्। त्यहीँबाट सुरु हुन्छ, अन्जिलाको दुःख र सुखका कथाको सँगालो।
मिलन चाम्सद्वारा निर्देशित चलचित्रमा एन्जिलाको संघर्षमा ध्यान केन्द्रित भए पनि मलाई उनको आमाको त्याग र समर्पण महत्त्वपूर्ण पाटो लाग्यो।

आमाको त्यो त्याग नभइदिएको हुँदो हो उनको सपना त्यही इलामको आइतबारेमा विलीन हुन्थे होला भन्ने चलचित्र हेरिसकेपछि अनुमान लगाउन सकिन्छ।

सानोमा खुट्टा मर्किएपछि चन्द्रे साहुले एन्जिलालाई फुटबल खेल्ने अनुमति दिएका हुँदैनन्। लुकीलुकी फुटबल खेल्दै गर्दा झापामा खेलिने राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा छनोट हुँदै गर्दा यता स्कुलमा परीक्षा शुल्क तिर्न नसक्दा परीक्षा दिन नपाउने विद्यालय प्रशासनले जानकारी दिन्छ।

आमासँग पैसा नहुँदा खुत्रुकेमा जम्मा गरेको पैसा एन्जिला र उनको दाइले फुटाउँदै गर्दा उनीहरूको दाइ (जेठी आमाको छोरा)ले तास खेल्न खोसेर लगिदिन्छ।

त्यसपछि पढाइ र खेलमा उनले पढाइ रोज्दै चन्द्रे साहु (सानोबुवा)सँग पैसा मागेर परीक्षा शुल्क विद्यालयलाई बुझाएको हुन्छ। त्यहीबाट खेल्ने सबै सपना आगोको रापसँगै जलेर खरानी हुन्छ।

यद्यपि अभाव र बुवाको अस्वीकृतिका कारण विलीन हुँदै गरेको ‘फुटबल सपना’ फेरि आमाले आँट गरेर परिवारको सल्लाहबिना एन्जिलालाई फुटबल खेल्नकै लागि काठमाडौँ पठाउँछिन् । फिल्मको यो दृश्यले एउटी आमाको त्याग र सन्तानप्रतिको भरोसा कति हुन्छ भन्ने भाव देख्न सकिन्छ। खासमा एन्जिलासँगै निर्देशकले आमाको त्यागलाई पनि चलचित्रमा मिहिन ढंगले प्रस्तुत गर्न खोजेका छन्।

आफन्त कस्तो हुन्छन् भन्ने विषय एन्जिला काठमाडौँमा आफन्तको घरमा बस्न पुगेपछि महसुस गर्न सकिन्छ।

आफन्तले दिएको चोटपछि बल्ल उनको खेल जगतमा नाम स्वर्ण अक्षरले लेख्ने चाहना सहितको यात्रा काठमाडौँको सडकदेखि एपिएफको खेलमैदानसम्म सुरु हुन्छ। निर्देशकले अर्को सकारात्मक कथा टपक्क टिपेर राखेको प्रसिद्ध खेलाडी भएपछि ‘बुवा’को ममताको अनुभूति नै नगराई छोडेर हिँडेका आफ्नो बुवालाई खोज्दै गएको दृश्यले दर्शक भावुक मात्रै हुँदैनन् आँखाबाट आँसु खसेको थियो।

समग्रमा चलचित्र राम्रो बनेको छ तर गीत एउटा मात्रै भएकाले दर्शक सांगीतिक माहोलमा झुम्न सकेनन्। चलचित्रमा समाजमा भएका हरेक पात्रलाई टिप्न खोज्दा कहीँ न कतै कमजोर पक्ष भेटिएको छ। जस्तै चन्द्रे साहुको जेठी श्रीमती उनी कानुनी र नैतिक रूपमा सही भए पनि ‘नेगेटिभ रोल’ देखाइएको छ। यद्यपि कमजोर पक्षलाई सुधार्ने प्रयत्न पनि गरिएको छ।

अन्त्यमा बाआमाको माया नपाएर खराब बाटो रोज्नेहरूका लागि पनि एन्जिलाको जीवन कथामा आधारित चलचित्र ‘अन्जिला’ प्रेरणा बन्न सक्छ।

खेलाडीका लागि मात्रै नभएर अरू पेसामा सफलता प्राप्त नभएर निरास हुनेहरूका लागि हौसला बन्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.