काठमाडौँ : राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनार्थ गर्ने आन्दोलनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा भाँडभैलोको संकेत देखिएको छ। पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलन वा आफ्नो छुट्टै आन्दोलन भन्नेमा राप्रपा पंक्ति विभाजित छ।
सुवेदी नेतृत्वको समितिमा राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका राजनीतिक दल तथा सबै समूहलाई समेटिएको छ। स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहको हुकुमबमोजिम बनेको भनिएको त्यही समितिमार्फत संयुक्त आन्दोलन अघि बढाउनुपर्ने पक्षमा राप्रपा इतर समूह छ।
तर त्यसमा संस्थापन पक्ष सहमत छैन। संयुक्त आन्दोलन समितिको सदस्यसमेत अस्वीकार गरेका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै नेतृत्वमा छुट्टै आन्दोलन गर्ने निर्णय पार्टीबाटै गराइसकेका छन्।
यही चैत ५ गते बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले राजसंस्था पुनःस्थापनार्थ आफैँले आन्दोलन अघि बढाउने निर्णय गरेको थियो। आन्दोलनका कार्यक्रमबारे छलफल गर्न सोही बैठकले १२ गतेका लागि आन्दोलन परिचालन मूल समितिको बैठक बोलाएको छ।
उक्त बैठकपछि आन्दोलनका कार्यक्रम के कस्तो रहने भन्ने कुरा थाहा हुने राप्रपा महामन्त्री राजेन्द्र गुरुङ बताउँछन्। राप्रपाले यसअघि नै काठमाडौँ उपत्यका केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। अब गर्न लागिएको कार्यक्रम त्यसैको निरन्तरता भएको उनले बताए।
‘राप्रपाले प्रतिकूल अवस्थामा पनि मुलुकमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा अडान राख्दै आएको हो। अहिले मुलुकमा जुन माहोल बनिरहेको छ, यस्तो वेला हामी गम्भीर हुनु स्वाभाविक हो । हामीले पूर्वघोषित कार्यक्रमअनुसार नै अझ यसलाई प्रभावकारी बनाउने र आफ्नो उद्देश्य स्थापित गर्न लागिपरेका हौं’, उनले भने, ‘१२ गते हामीले आन्दोलन परिचालन मूल समितिको बैठक बसेपछि कसरी के कस्ता आन्दोलन गर्ने भन्ने सार्वजनिक गर्छौं।’
‘पार्टीभित्रै दुई चिरा हुनुहुन्छ, कसरी प्रभावकारी होला आन्दोलन ?’ भन्ने थाहाखबरको जिज्ञासामा महामन्त्री गुरुङ आन्दोलन घोषणा भएपछि एकजुट हुने जिकिर गरे। ‘पार्टीको कार्यक्रम औपचारिक रूपमा सार्वजनिक भएपछि पार्टीका सबै नेताहरू पार्टीकै कार्यक्रममा एकाग्र हुनुहुनेछ’, इतर पक्षीय नेताहरूबारे उनले थपे, ‘अहिले पार्टीको सबै कार्यक्रम आइनसकेकोले हो तर त्यसपछि सबै एक मन एक तन भएर अगाडि बढ्छौँ।’
तर राप्रपामा इतर समूहको नेतृत्व गर्दै आएका महामन्त्री धवलशमशेर राणा पार्टीको निर्णयविपरीत सुवेदी नेतृत्वकै संयुक्त समितिमा सक्रिय रहने घोषणा गरिसकेका छन्। उनी सुवेदी नेतृत्वकै समितिमातहत गठित आन्दोलन परिचालन समितिका संयोजक बनेका छन्।
जसको बैठक शुक्रबार बसेको थियो। उक्त बैठकले सबै राजावादीहरूलाई एकताबद्ध हुन अपिल गरे। शुक्रबार नै रिपोर्टस् क्लबमा राणाले सुवेदी नेतृत्वकै छाताअन्तर्गत सबै राजावादी मिलेर जानुपर्ने धारणा पनि राखे।
उनले भने, ‘नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ। त्यही छाताअन्तर्गत यो सबै भइरहेको छ। हामी सबै पार्टीहरू, दुर्गा प्रसाईंजीहरू पनि। शाही शक्ति, सबै अभियन्ता र पार्टीहरू मिलेर अघि बढ्ने हो।’
बरु महामन्त्री राणा संयुक्त आन्दोलन समितिमा रहेका असन्तुष्ट सदस्यहरूलाई फकाउने प्रयासमा छन्। अध्यक्ष लिङ्देनले सदस्यता अस्वीकार गरे पनि अन्य असन्तुष्ट सदस्यहरूलाई भने ल्याउने कोसिस भइरहेको राणा छन्।
‘हामी सबैलाई एक हुन आह्वान हुन भनेका छौँ र कुरा विस्तारै मिल्दै गएको पनि छ। कमल थापाजीले प्रतिनिधि पठाउनुभएको छ, केशवबहादुर बिष्टसँग सकारात्मक कुरा भइरहेको छ’, उनले भने, ‘राप्रपाले आफैँ आन्दोलन गर्छु भनिरहेको छ तर एकापसमा सहयोग गरेर अघि बढ्ने कुरा भइरहेको छ। हामी सबै एक ठाउँमा आउनैपर्छ।’
पार्टीले नै सशक्त आन्दोलन गर्न लागेका वेला महामन्त्री राणा अर्कोतिर लागिपरेको संस्थापन पक्षलाई मन परेको छैन। पार्टीको पनि आन्दोलन परिचालन समिति संयोजक रहेका राणा पार्टी अनुशासनविपरीत हिँडेको बुझाइ संस्थापन पक्षको छ।
पार्टीको जिम्मेवारीसँग जुझ्ने जिम्मेवारी लिएर पार्टीको निर्णयलाई लत्याएकाले राणाको एउटा जिम्मेवारी खोस्नेसम्मको तयारीमा संस्थापन पक्ष छ। राप्रपाका एक पदाधिकारीले १२ गते बैठकले निर्णय गर्ने बताए।
‘उहाँ (राणा)का लागि कि यता मात्रै कि उता मात्रैको विन्दु आउँछ’, उनले थाहाखबरसँग भने, ‘१२ गतेको बैठकपछि सबै कुरा थाहा हुन्छ।’
तीन महिनाअघि राप्रपाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले अर्को पार्टी वा राजनीतिक अभियानको कुनै पनि पदमा रहेको खण्डमा पार्टीको जिम्मेवारीबाट हटाइने निर्णय गरेको थियो।
महामन्त्री राणाले यसअघि पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि गुमाइसकेका छन्। पार्टी संस्थापन विरोधी गतिविधि बढाउँदै गएपछि अध्यक्ष लिङदेनले उनलाई हटाएर बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख बनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।