विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्र र पञ्चायत ठीक भन्ने तर्क मूर्खले पनि नगर्ने बताएका छन्।
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको बताएका छन्। च्याउ सरी दल उम्रनु राम्रो नभएको बताउँदै उनले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सबै जानुपर्नेमा जोड दिए।
पोखरेलले भने, ‘राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन्। राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खले पनि गर्दैनन्।’
राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताएका छन्।
यस्तै जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य नहुने समेत बताए। राजा हुँदा ठिक भनेर भ्रम फैलाउने काम भएको बताएका छन्।
महासचिव पोखरेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क गर्न कसैले नसक्ने बताए। पञ्चायत कालमा भएका विकास निर्माण र अहिलेको विकास निर्माणको उदाहरण दिँदै राजतन्त्र र पञ्चायत ठिक भनेर मूर्खहरूले पनि भन्न नसक्ने टिप्पणी गरेका छन्।
‘आज कतिपय राजावादीहरूले भन्ने गर्छन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो। केका आधारमा उनीहरू त्यस्तो तर्क गर्छन्, मलाई अनौठो लाग्छ’‚ पोखरेलले भने।
उनले मिडियाले पनि तथ्यका आधारमा भ्रम चिर्नुपर्नेमा जोड दिए। लोकतन्त्र नै खतरामा परेका वेला लोकतान्त्रिक दल मिलेको उनले दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।