काठमाडौं : इजरायल–हमास युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी गाजामा मारिने प्यालिस्टिनीको संख्या ५० हजार नाघेको छ।
हमासमा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार २१ पुगेको छ भने यो संख्या युद्ध सुरु हुनुअघिको २३ लाख जनसंख्याको करीब २ दशलमव १ प्रतिशत हो।
यस अवधिमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन्। मारिनेमा कति गैरसैनिक र कति हमास लडाकु थिए भन्ने कुरा भने छुट्याइएको छैन।
२०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक र अभूतपूर्व रूपमा आक्रमण गरी करीब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएपछि त्यसको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही थालेको थियो।
गाजा युद्ध सुरु भए यता २०२३ को नोभेम्बरमा ७ दिनका लागि र त्यसपछि यसैवर्षको जनवरी १९ देखि गरी दुई पटक अस्थायी युद्धविराम भएका छन्।
दुवै पटक गरी हमासले ८ शवसहित १४७ बन्धक रिहा गरेको छ। यस्तै इजरायली सेनाले ८ जना बन्धकलाई जीवितै मुक्त गराएको छ भने ४१ जनाको शवको उद्धार गरेको छ।
हमासको नियन्त्रणमा अहिले पनि ५९ बन्धक रहेको र तीमध्ये २४ जना मात्र जीवित रहेको विश्वास गरिएको छ।
यी बन्धकमा हमासले अक्टोबर ७ मा अपहरण गरेका २५१ जनाका अतिरिक्त २०१४ र २०१५ मा गाजा प्रवेश गरेका दुई जना र २०१४ को युद्धमा मारिएका दुई सैनिकको शवको तथ्यांक पनि समेटिएको अन्तर्राष्ट्रिय समाचार समिति एपीले जनाएको छ।
यही मार्च १८ मा इजरायलले गाजामाथि भीषण हवाई आक्रमण गरी ६ सयभन्दा बढीको ज्यान लिएपछि जनवरी १९ देखि सुरु भएको युद्धविराम धराशायी भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।