|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालबाट संयोजक डा. बाबुराम भट्टराईका कतिपय पुराना साथीहरु फेरि माओवादी केन्द्रमा नै फर्किएपछि अहिले उनको पार्टीको भविष्यबारे प्रश्न उठेको छ। कतिपयले नयाँ शक्ति पार्टीबाट बाबुराम भट्टराई फेरि राष्ट्रिय राजनीतिमा स्थापित हुन नसक्ने निश्कर्ष निकालेका बेला भट्टराई भने अबको केही वर्षमा नै स्थापित हुनेमा आशावादी छन्।

स्थानीय तहमा नयाँ शक्ति पार्टीले पाएको मत र उनको पार्टीमा उनी बाहेक अरु स्थापित अनुहारहरु नहुँदा सामान्यतया धेरैले निकाल्ने निश्कर्षलाई भट्टराई भने गलत मान्छन्। उनी दाबी गर्छन् 'अबको चुनावमा पुरानै पार्टी हावी भए पनि उनीहरुले जनताको इच्छा अनुसार काम गर्न सक्दैनन्, त्यसपछि अर्को चुनावअघि नै ठूलो आन्दोलन उठ्छ त्यसको नेतृत्व हामी गर्छौं।'

पुराना पार्टीबाट आर्थिक समृद्धि सम्भव नहुने भन्दै २०७२ असोजमा माओवादी छोडेका भट्टराईले आठ महिनापछि २०७३ जेठ ३० गते दशरथ रंगशालामा नयाँ शक्ति पार्टी घोषणा गरेका थिए।    

चार महिनामै शुरु भयो पार्टी छोड्ने क्रम  

पार्टी गठन भएको चार महिनापछि नयाँ शक्ति नेपालबाट नेता मुमाराम खनाल बाहिरिए। नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक रहेका खनालले ०७३ असोज २१ गते विज्ञप्ति मार्फत नबदलिएका नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन नसक्ने भन्दै पार्टी छाडेको घोषणा गरे।

‘नेपालको राजनीतिमा नयाँ ‘न्यारेटिभ’ खोज्ने कुरामा डा. बाबुराम भट्टराई र म एकै ठाउँमा थियौं, जब माओवादी छोडेर हामी हतार हतार नयाँ शक्ति गठनमा लाग्यौं, जुन तरिकाले नयाँ शक्तिमा काम गर्नुपर्ने हो त्यो हुन सकेन' उनले नयाँ शक्तिको कारणबारे भने 'नाम मात्रको नयाँ शक्तिमा बसिरहन उचित ठानिन र वैकल्पिक धारको खोजीमा निस्किएँ।’

नयाँ शक्ति गठनको १० महिनापछि अर्का नेता रामेश्वर खनालले छाडे। त्यसैगरी नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका र पछि नयाँ शक्तिमा सहसंयोजक रहेका  नेता महेश कर्मैचाले पनि मोर्चाले पनि बाबुरामको साथ छोडे।

प्रवक्ता देवकोटा निष्क्रिय  

नयाँ शक्ति निर्माणका प्रवक्ता खिमलाल देवकोटाले गत साउन १० गते पदबाट राजीनामा दिएर साधारण सदस्यको रुपमा मात्र बसे। उनले पार्टी छाड्नुमा स्थानीय चुनावमा भएको हारको जिम्मेवारी लिएको बताए। त्यतिबेला उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

‘रंगशालाको लाखौंको जमातबाट कमलादीमा केही हजार लिएर पुगियो, बाँकी छुटे। त्यहाँवाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबरमहलबाट पनि तीन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभयो। त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्रायः बैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।’

देबेन्द्र पौडेलसहित १५ जनाको परित्याग

गत साउन २६ गते पार्टी सह संयोजक तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलसहित १५ जनाले पार्टी विचार विनाको एनजीओको भीड जस्तोमात्र भएको आरोप लगाउँदै परिवर्तनकारीहरु ध्रुवीकृत हुनुपर्ने धारणा सार्वजनिक गरे।

त्यसको भोलिपल्ट उनीहरुलाई नयाँ शक्ति नेपालले स्पष्टिकरण सोध्यो। पार्टीभित्र राख्नुपर्ने विषय बाहिर सार्वजनिक गरेको भन्दै संयोजक भट्टराईले उनीहरूलाई अनुशासन उल्लंघनको कारबाही गर्ने चेतावनी दिए। भट्टराईले सोधेको प्रश्नको जवाफ दिँदै १५ नेताका तर्फवाट नेता पौडेलले भट्टराईले आफूहरुको हैसियत नबुझेको आरोप लगाए।

नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठले नेताहरुले एकपछि अर्को गर्दै पार्टी छाड्नुलाई स्वभाविक भनेका छन्। 'पार्टी निर्माणको प्रक्रियामा आएका साथीहरु सबैजना अन्तिमसम्म नै पुग्नुहुन्छ भन्ने हुँदैन' उनलेभने। नयाँ शक्तिमा फरक फरक प्रतिभाको सम्मिश्रण भएको बताउँदै नेता श्रेष्ठले पौडेलसहितका नेताहरुले आफ्नो पुरानो स्कुलिङ अनुसार पार्टी चलोस् भनेर चाहना राखेको तर पूरा हुने नदेखेर छाडेको बताए।

तोडियो ४० वर्ष पुरानो सम्बन्ध

जनयुद्धको समयदेखि नै देवेन्द्र पौडेल डा. बाबुराम भट्टराई निकट मानिन्थे। यद्यपी उनीहरुको सम्बन्ध भने त्यस अगाडिदेखि नै थियो। शान्ति प्रक्रियामा आएपछि भट्टराईको विचार समूहमा रहेर पौडेलले साथ दिए। डा. बाबुराम भट्टराई पार्टीबाट एक्लै अलग भएर नयाँ शक्ति बनाएपछि पौडेल पनि माओवादी छाडेर त्यतै गए। तर नयाँ शक्तिमा पुगेर भने पौडेलले भट्टराईसँगको ४० बर्ष पुरानो सम्बन्ध टुंग्याए।

भट्टराईसँगको सम्बन्ध टुंग्याउनेमा कुमार पौडेल, वामदेव क्षत्री लगायतका नेताहरु पनि हुन्। उनीहरुले नयाँ शक्तिले पथ प्रदर्शक सिद्धान्तबाट मार्क्सवाद हटाएपछि भट्टराईसँगको ४० बर्षे सहयात्रा टुंग्याउन बाध्य भएको बताएका थिए। पौडेलसहितको नेताले छाड्नु केही दिनअघि नयाँ शक्तिमा रहेका मधेसका दुई नेता रामचन्द्र झा र रामकुमार शर्मा पनि माओवादी केन्द्रमा गएका थिए।

के भन्छ नयाँ शक्ति?

देवेन्द्र पौडेल लगायतका नेताले पार्टी छोडेकोमा व्यक्तिगत रुपमा दुःख लागेपनि संस्थागत रुपमा भने यसले फाइदै गरेको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए। उनले भने ‘विगत छ महिनादेखि हाम्रोपार्टी दोवाटोमा उभिएको थियो। देवेन्द्रजीहरुले पार्टी छोडेर आफ्नो बाटो लागेपछि नयाँ शक्ति पार्टी पनि निर्माणको बाटोमा अघि बढेको छ। हामीले जुन उद्देश्यले नयाँ शक्ति गठन गरेका हौं त्यो पाटोमा अगाडि बढिसकेका छौं।’

भट्टराईले केही समयअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताबारे छलफल पनि गरेका थिए। तर नेतृत्व लगायतका विभिन्न विषयमा कुरा नमिलेपछि तत्कालका लागि एकता प्रक्रिया टुंगिएको छ।

बिरामी भएर आराम गरिरहेका नेता भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन २८ गते भेट गर्न पुगेका थिए। त्यस क्रममा प्रचण्डले पार्टीमा पार्टीमा फर्किन आग्रह गरेका थिए। तर आफूले अब नेपालमा मार्क्सवादको औचित्य सकिएकाले त्यसलाई थाती राख्न तयार हुनुहुन्छ भने छलफल गर्न तयार रहेको जवाफ दिएको भट्टराई बताउँछन्।

नयाँ शक्ति पार्टी छाडेका नेताहरु भट्टराई अहिले अनिर्णयक बन्दी भएको बताउँछन्। हालै नयाँ शक्ति छाडेका नेता बामदेव क्षेत्री बरु साझा विवेकशील पार्टी र एमालेतिर ध्रुवीकरण हुने तर माओवादीतिर कुनै हालतमा ध्रुवीकरण नहुने सोचाइमा भट्टराई पुगेको बताउँछन्।

भट्टराईले सोमबारको कार्यक्रममा पार्टी छाड्नेहरुलाई हुर्कने क्रममा बच्चाको दाँत झरेको र विरुवा हुर्किँदा बोक्रा उप्किएकोसँग तुलना गरे। उनले आफूहरुले रुपान्तरणसहितको नयाँ पार्टी निर्माण गर्न खोजेको दावी गर्दै रुपान्तरित हुन नसक्नेहरु बाहिँरिदा पार्टीमा झन् सजिलो भएको टिप्पणी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.