काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैली बदल्नुपर्ने दोहोर्याएका छन्।
बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले मौनधारण गरेर सरकार सफल नहुने बताए। उनले सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताका लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए। उनले वर्तमान सरकार कायमै रहने भएकाले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए।
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रस्ताव राखे। उनले एमालेबाट प्रधानमन्त्री हुँदा एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा कांग्रेसकै टिम हुनेगरी सहमतिको विकल्प प्रस्तुत गरे।
उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे। कुनै पनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताए।
उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।