|

पाल्पा : यतिबेला काठमाडौंमा शिक्षकहरूको आन्दोलन चलिरहेको छ। शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै विगत १५ दिनदेखि आन्दोलनमा छन्।

उक्त ऐन संसदबाट पारित हुनुपर्छ। तत्काल शिक्षा ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।  तर संसद बैठक बस्न सकिरहेका छैन। 

पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा बिहबार संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम भएको छ। शारदा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संसद अभ्यास गराइएको थियो।

अगाडिक मञ्चमा विद्यार्थी सुनिता सुनार सभामुखको भूमिकामा थिइन्। संसद सचिवालयको महासचिवको भूमिकामा विनोद खत्री थिए। कार्यक्रम हेर्दा संघीय संसदको बैठक बसेको नै आभास हुन्थ्यो । तल अगाडितर्फ दुई तर्फ संसद थिए। विद्यार्थी नै सांसद बनेका थिए।

पर्यवेक्षक भने संघीय संसद ठाकुर गैरे, संसद सचिवलायका महासचिव पदमप्रसाद पाण्डेसहित सचिवालयका सहसचिव, उपसचिवसहितका कर्मचारी , स्थानीय अभिभावक, विद्यालयका शिक्षक रहेका थिए।

मर्यादापालकको रुपमा रहेकी सन्ध्या पाण्डेले संसद बैठकतर्फ सबैको ध्यान केन्द्रित गरिन्। लगत्तै सभामुख, महासचिव आइपुगे। राष्ट्रिय गानसँगै संसदको कार्यबाही अगाडि बढ्यो। सभामुख बनेकी सुनिताले बैठकमा हुने कार्यतालिकाबारे जानकारी गराइन्।

शून्य समय, अकास्मिक समय र विशेष समयमा संसदलाई आफ्ना भनाइ राख्न दिइन्। अधिकांश नमुना विद्यार्थी संसदले शिक्षकको आन्दोलनका विषयमा आवाज उठाए। शिक्षकका माग तत्काल सम्बोधन गरेर विद्यालय सुचारु गर्ने वातावरण मिलाउन सरकारलाई दबाब दिए।

नमुना युवा प्रधानमन्त्री बनेका विद्यार्थी आशिष भण्डारीले शिक्षा ऐन छिट्टै जारी हुने जवाफ दिए। शिक्षकको मागबारे सरकार गम्भीर छ। शिक्षा क्षेत्रको सुधार गर्नेगरी ऐन जारी हुने कुरामा उनले ढुक्क हुन अनुरोध गरे। शिक्षकको हितमा ऐन जारी हुने बताए। प्रक्रियाअनुरुप नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भयो।  

संघीय संसद सचिवालयको आयोजना र शारदा माध्यमिक विद्यालयका सहकार्यमा दुई दिने कार्यक्रम आयोजना भएको रिब्दीकोट गाउँपालिका १ ख्याहाका वडाध्यक्ष चिरन्जीवी पोखरेलले बताए।  विद्यार्थीलाई बुधबार संसद बैठकबारे सैद्धान्तिक तालिम दिइएको थियो। 

शिक्षा ऐन पारित हुनेमा महासचिव पाण्डे विश्वस्त

कार्यक्रममा उपस्थित संघीय  संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले तीन अंग मध्ये व्यवस्थापिकाबारे किताबमा पढिरहेका विद्यार्थीलाई यो कार्यक्रमले प्रत्यक्ष जानकारी दिएका बताए। संसदले नीति नियम निर्माणको काम गर्ने उनले बताए। यो कार्यक्रमले विद्यार्थीलाई राजनीतिमा प्रोत्साहित गर्नेछ। निर्वाचनबाट राम्रा उमेदवारलाई जिताउन सहयोग गर्ने उनले बताए।

सबै एउटै क्षमताका संसद हुँदैन। मुलुकको विकासका लागि ऐन, नीति नियम बनाउने थलो संसद भएको हुँदा सक्षम नेतृत्वलाई जिताएर पठाउनुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको महासचिव पाण्डेले बताए।

‘संसद फूलबारी होइन्, काम गर्ने थलो हो’, उनले भने, ‘काम गर्न सक्ने सक्षम नेतृत्वलाई मत दिइ जिताएर पठाउनुपर्छ।’ संघीय संरचनालाई व्यवस्थापन गर्न नसके मुलुकले खर्च थेग्न नसक्ने समेत उनले बताए।

नमुना संसदमा उठेको शिक्षकको आन्दोलनबारे उनले थपे शिक्षा ऐन जारी हुनुपर्छ।  आगामी १२ गते संसद बैठक आव्हान गरिएको छ। बजेट अधिवेशन भएपनि शिक्षकको मागलाई सम्बोधन गर्न शिक्षा ऐन जारी गर्नुपर्ने उनले सुझाए। शिक्षकका जायज मागलाई ध्यानमा राखेर ऐन जारी हुनेछ।

अहिले शिक्षा ऐनबारे सरकार, विभिन्न संसदीय समिति, उपसतिमिबीच छलफल चलिरहेको छ। सम्पूर्ण छलफल सकेर यही वैशाख १२ गते बस्ने संसद बैठकबाट शिक्षा ऐन पारित हुनेमा आफू आशावादी रहेको महासचिव पाण्डेले बताए।

वार्ता, संवाद र सहमतिबाट नै शिक्षा ऐन जारी हुन्छ 

वार्ता, संवाद र सहमतिबाट नै शिक्षकको मागलाई सम्बोधन गर्न सरकार तयार रहेको संघीय संसद पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले बताए। वर्षे अधिवेशनमा शिक्षा ऐन पास हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

राजाको पालामा २०२८ सालमा बनेको शिक्षा ऐनले लोकतान्त्रिक गणतन्त्रको शिक्षा प्रणाली चलिरहेको छ। शिक्षा क्षेत्रको आधुनिक रुपमा परिवर्तन गर्न र शिक्षक जायज माग पूरा गर्न शिक्षा ऐन जारी गर्नुको विकल्प नभएको उनले बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.