|

हेटौंडा : मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले सातौं स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो।

छैटौँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आएको फुटबल संघ मकवानपुरले संस्करणको पहिलोपटक महिला फुटबल प्रतियोगिता गर्न लागेको हो। यही वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोली सहित ५ वटा जिल्लाका क्लब सहभागी हुनेछन्।

विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी ८ वटा क्लब सहभागी हुने संघका सचिव छविलाल सुवेदीले जानकारी दिए।

प्रतियोगिताका विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ।

प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन्।

यसैगरी पत्रकार सम्मेलनमा छैटौँ स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताको आयव्यय विवरण समेत सार्वजनिक गरेको छ। संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको बताए।

२०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.