|

काठमाडौं : ताप्लेजुङ, कालिकोट र पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। 

ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेण्ट लाग्दा चार जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा आज बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदा करेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो। बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल छन्। यस्तै चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको छ।

यस्तै कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिका–९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता– २ लार्फा गाउँ नजिक राति ११ बजे दुर्घटना भएको हो।

दुर्घटनामा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का ३८ वर्षका सर्दु वुढा, बर्ष २३ रवीन्द्र विक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको छ। 

राति भीरबाट ट्याक्टर खसेको र बिहान मात्र शवहरु शंकलन गरिएको प्रहरीले जनाएको छ । खाद्यान्न लिएर जाँदै गरेको ट्याक्र्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पाल्पामा आइतबार राति जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ  ५ जना घाइते भएका छन्। बगनासकाली–४, बेलडाँडामा जिप दुर्घटना हुँदा स्याङ्जा कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारुको मृत्यु भएको हो। दुर्घटनामा परी घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते भएकी छन्। घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए। 

बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.