|

गौर : रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरी टोल व्यावसायिक मकैखेतीका लागि चिनिन थालेको छ। यहाँ करिब ६ सय बिघा क्षेत्रमा मकैखेती भइरहेको छ। हरियालीले ढपक्क ढाकिएको खेतले गाउँको समृद्धिको संकेत दिइरहेको छ।

स्थानीय किसान सञ्जीव पटेलले विगत धेरै वर्षदेखि मकैखेती गर्दै आएका छन्। उनी भन्छन्, ‘बलेरीमा मकैखेतीबाट वार्षिक झण्डै १० करोड रुपैयाँसम्म आम्दानी हुन्छ। एक कट्ठा खेतमा राम्रो उत्पादन भयो भने ५ देखि ७ क्विन्टल मकै फल्छ।’ औसतमा किसानले प्रतिकट्ठा ४ देखि ५ क्विन्टल उत्पादन गरिरहेका छन्।

बलेरीको माटो मकैखेतीका लागि उपयुक्त हुनुका साथै सिँचाइको राम्रो व्यवस्था भएकाले अधिकांश किसान मकैमै केन्द्रित छन्। वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलका अनुसार गाउँको अधिकांश जमिन मकैले भरिएको छ, थोरै जमिनमा मसुरो, आलस, तोरी र गहुँ जस्ता बाली लगाइएका छन्।​

वर्षेनि व्यावसायिक रूपमा मकै खेती गर्दै आएका किसान रवीन्द्र पटेल भन्छन्, ‘मकै बोटमै हुँदा व्यापारीहरू मिनी ट्रक लिएर आउँछन्। खेतमै मूल्य तिरेर घोगा भाँचेर लान्छन्। बेच्नुपर्ने झन्झट नभएकै कारण यहाँका किसानहरूको मुख्य आम्दानीको स्रोत मकै बनेको छ।’

यो वर्षको मौसमले भने किसानहरूलाई ठूलो झट्का दिएको छ। गत चैत ८ गते राति आएको भीषण असिना पानी र हावाहुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको हो। स्थानीय किसान पसिन्द्र पटेल भन्छन्, ‘असिना पानीले मकैको बोटै भाँचियो, घोगा पनि खत्तम भयो। उत्पादन निकै घट्ने देखिन्छ।’

त्यसैगरी केही वर्षयता जंगली जनावरको आक्रमण पनि मकैखेतीका लागि चिन्ताको विषय बनेको छ।

विशेषगरी नीलगाई र बँदेलले खेतमा पसेर मकै नष्ट गर्ने गरेका छन्। किसानहरू बारम्बार वन कार्यालयमा गुनासो लिएर जाँदा पनि ठोस समाधान नभएको गुनासो गर्छन्।

सो गाउँका किसानहरू दुई दशकदेखि मकै खेतीलाई प्राथमिकता दिँदै आए पनि हालसम्म सरकारी निकाय वा स्थानीय तहबाट कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि गरेका छन्। प्रविधियुक्त कृषि, मल, बीउ, सुरक्षाका लागि जंगल छेउमा बारजस्ता उपायमा सरकारी सहयोगको खाँचो रहेको उनीहरूको भनाइ छ।

बलेरीमा मकैखेतीले स्थानीय अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गरिरहेको छ तर प्राकृतिक विपद् र वन्यजन्तुको समस्या समाधान नभएसम्म यसलाई दीर्घकालीन र दिगो समृद्धिको आधार बनाउने सपना अधुरै रहने देखिन्छ। यस्ता उत्पादनशील क्षेत्रहरूमा सरकारी सहयोग, बाली बीमा सुविधा, अनुदान र संरक्षण उपाय अनिवार्य रूपमा ल्याउनुपर्ने आवश्यक देखिन्छ।

बलेरीमा मात्र नभई रौतहटका चन्द्रपुर, गुजरा, फतुवा विजयपुर लगायतका उत्तरी क्षेत्रमा पनि किसानहरूले व्यावसायिक रूपमा मकै खेती गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.