|

हेटौँडा : यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। मंगलवार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो।

छैटौँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगितामात्र गर्दै आएको फुटबल संघ मकवानपुरले यो संस्करणमा पहिलोपटक महिला फुटबल प्रतियोगिता गर्न लागेको हो। गौरीटार रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ५ वटा जिल्लाका क्लब सहभागी हुनेछन्। 

विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी ८ वटा क्लब सहभागी हुने संघका सचिव छविलाल सुवेदीले जानकारी दिए। 

महिला खेलाडीहरुले पछिल्लो समय उत्कृष्ट नतिजा देखाउँदै आएको हुँदा महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न मकवानपुरमा संस्करणमा पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरेको जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए। 

प्रतियोगिताका विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ। 

प्रतियोगिता सञ्चालनका लागि ६१ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ। 

प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, प्रदेश खेलकुद विकास परिषद्लगायत स्थानीय संघ संस्था रहेका छन्। 

उद्घाटन खेलका दिन खेल हेर्न आउने दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको र अन्य दिनमा भने टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.