विराटनगर : कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका परियोजनामा एमओयू भएको छ।
आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइराला र लगानीकर्ताहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका ८ परियोजनामा ३ अर्ब, ऊर्जाका ३ परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका २ परियोजनामा ४७ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापनमा ६० करोडको परियोजना एमओयू भएको छ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक-निजी साझेदारीका २७ वटा परियोजनाको एमओयू भएका हुन्।
प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो। सोकेसिङ गरिएका परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड थियो।
आजको कार्यक्रमलाई सम्बोधन गर्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले गरेका कानूनी र नीतिगत कुराबारे प्रकाश पारेका थिए। उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए।
पूर्वमुख्यमन्त्री केदार कार्कीले लगानीमैत्री वातावरण बनाउन कानून संशोधन गर्न कठिन नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने र यसले लगानीको वातावरण तयार हुने बताए।
कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले सम्मेलन सफल भएको बताए। कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगानालगायतले कोशी प्रदेशमा लगानीको सम्भावना राम्रो रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।