वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ। नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।
घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतिहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोडसवारबीच प्रतिस्पर्धा गराइएको थियो ।
ब्रह्म बाबा सञ्चालक सेवा समिति तथा बिपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको उक्त दौडमा १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो।
समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबीच सदियौँदेखि चल्दै आएको सद्भाव कायम गर्न पनि प्रतियोगिताले ठूलो मद्दत पुर्याएको बताए।
घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो। ‘दर्शकको घुँइचो र उत्साहले आगामी वर्षमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ’, उनले भने.
घोडा दौड प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा प्रथम भएको छ । प्रथम हुनेलाई कुलर मेसिनले सम्मान गरियो । त्यस्तै द्वितीय पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्यो । त्यस्तै तृतीय पुरस्कार भने पर्साको सिर्सियाका हरिशङ्कर सिंहको घोडाले प्राप्त गर्यो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबीच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुर्याएको बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।