|

दाङ : घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन्। उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन्।

कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेडालाई खुवाउने र बिउ बिक्री पनि गरिरहेको उनले बताए। गत वर्ष दुई लाखको घाँसको बिउ बिक्री गरेको चौधरीले जानकारी दिए। यो वर्ष पनि प्रशस्त दाना लागेकाले गत वर्षभन्दा बढी आम्दानी हुने उनको विश्वास छ।

‘खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ। हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बिउका रूपमा बिक्री हुन्छ’, उनले भने। उनका अनुसार दाङका किसानले घाँसको बिउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्।

घोराही-६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पालेका छन्। ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ। हिउँदमा  हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन्’, उनले भने।

घरमा बिउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए। ‘बर्खाको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बिउ छर्ने गरिन्छ। घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्”, उनले भने। गत वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यो वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताए।  

घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बिउ उत्पादक संघले जनाएको छ। अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको संघका सचिव विमल अधिकारीले जानकारी दिनुभयो। 

घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए। 

‘यसलाई ‘ग्रिनगोल्ड’का नामले पनि चिनिन्छ। यो खेती गर्ने किसानलाई दोहोरोतेहोरो फाइदा हुन्छ। हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्’, अधिकारीले भने। 
    
गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले रु दुई लाख ९० हजारदेखि तीन लाखसम्म आम्दानी गरेका छन्। यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.