काठमाडौं : शैलेन्द्र अधिकारी धादिङ सुनौला बजारका सुनौला प्रतिभा हुन्। गजल, समालोचना र आख्यानमा कलम चलाउँदै आएका अधिकारीको अर्हत् उपन्यास (२०८१) उनको लेखनको सातौँ खुड्किलो हो।
'नेपाली उपन्यासमा सवाल्टन' शीर्षकमा विद्यावारिधि अनुसन्धानरत शैलेन्द्र अधिकारी यतिबेला अर्हतको आँखीझ्यालबाट बुद्ध दर्शन नियालिरहेछन्। एकचालीस वर्षमा हिँड्दै गरेका अधिकारीको अर्हत् उपन्यासको शीर्षक र विषयभित्र प्रवेश गर्दा उनमा मसाने वैराग्य पलाएको भन्दा पनि चेतनाको स्तर केही फराकिलो भएको हो भन्ने स्पष्ट हुन्छ।
बुद्धको धर्माेपदेश र बुद्धजीवनीसँग सम्बन्धित अर्हत् उपन्यासमा उठान भएका विषयवस्तुको चर्चा गर्नु र उठ्न बाँकी विषयहरूको पनि साङ्केतिक जवाफ खोज्नुु, पुरातन विषयभित्रै नवीनताको खोजी गर्नु ,अर्हत्ले समेटेको बुद्धको व्यापकतालाई प्रकाश पार्नु ,बुद्धको व्यावहारिक शिक्षालाई सङ्केत गर्नु , अर्हत्को ऋणात्मक पक्षको पहिचान गर्नु ,अनित्य, दुःख र अनात्म गरी यो संसारलाई तीन भागमा बाँडिएको थेरवादी दर्शन अनुसार थेरवादमा आधारित अर्हत् उपन्यासको विश्लेषणात्मक निष्कर्ष निकाल्नु यस आलेखको अभिष्ट रहेको छ।
विषय प्रवेश
अर्हत् उपन्यास अनेक मनोद्वन्द्वात्मक युद्धमा रुमल्लिरहने हरेक व्यक्तिभित्र लुकेर बसेको बुद्ध बाहिर निकाल्नका लागि झक्झक्याउन गरिएको एउटा प्रयास हो। अर्हत् उपन्यास त केवल बुद्धको भक्त हुन होइन, बुद्धको दास बन्न होइन, बुद्धको पुजारी बन्न होइन, स्वयं अर्हत् वन्न र बुद्ध हिँडेको बाटो हिँडेर स्वयं बुद्ध बन्नका लागि गरिएको एउटा उत्प्रेरणाको उत्तोलक हो।
आजभन्दा झन्डै छब्बीस सय वर्ष अगाडि हुनेवाला राजा सिद्धार्थले त्यत्रो वैभवशाली दरबारको ऐस आराम ,मोजमस्ती ,सत्ता ,सम्पत्तिलाई पात पतिङ्गर धुलोको कसिङ्गर सम्झी दरबार त्याग्नु तर हामीहरू छब्बीस सय वर्ष पछाडि पनि सकी नसकी आवश्यकताभन्दा बढ्ता महत्वकाङ्क्षी सपना बुनेर त्यस्तै घरबार र दरबार जोड्नकै लागि मरिहत्ते गर्नुले हाम्रो चेतनाको स्तर कहाँ पुग्दै छ भन्ने प्रश्न अर्हत् उपन्यासले जन्माएको छ।
बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि वृद्ध, रोगी, शव र संन्यासी देखेर सिद्धार्थको मनमा छटपटाहट र व्याकुलताको प्रश्न उठ्नु, जिज्ञासाको कुतकुतीले कुत्कुत्याएर खोज्दै जाँदा समाधान निस्कनुले हरेक व्यक्तिमा एउटा विद्यार्थी र एउटा गुरु आफैँभित्र लुकेर रहेको सङ्केत गरेको छ।
बुद्ध भगवान् नभएर प्रश्नको खोजीमा हिँड्दा सारा मानव जगतको कल्याणका लागि दुःख मुक्तिको थेसिस सिध्याएर फर्केका बुद्ध विराट् अनुसन्धाता ,खोजकर्ता हुन् भन्ने कुराको छनक दिएको छ।
६ वर्षसम्म कठोर तपस्यामा रही हाडखोर मात्र बाँकी रहँदा गाउँलेहरू कुलदेवता पूजा गर्न त्यस ठाउँमा आएका बेला त्यस गाउँको प्रमुखकी छोरी सुजाता नाम गरेकी एक महिलाले बुद्धलाई यी मानिस नभई लामा लामा कान गरेका बत्तीस लक्षणले युक्त भएका वनदेवता सम्झी चढाउन ल्याएको खीर खाएर पनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि शरीरलाई अति कष्ट दिनु पनि ठिक छैन भनेर अतिवादबाट पर बसेर संसारलाई सम्झाउने मध्यमार्गी धारका मार्गनिर्देशकका रूपमा अर्हत् उपन्यासले बुद्धलाई चिनाएको छ।
अर्हत् उपन्यासले बुद्धलाई भगवान् नभई महामानवकै रुपमा चित्रण गरेको छ। यस उपन्यासले बुद्धलाई जन्म र मृत्युको दुःखबाट बचाउने चिकित्सकका रूपमा चिनाएको छ।
प्रत्येक विहारमा उपासक उपासिका हुनु थेरवादीहरूको नियम हो। अधिकारीको अर्हत् उपन्यासमा धेरै ठाउँमा उपासक उपासिकाको प्रसङ्ग आइरहनु र बुद्धकै मूल दर्शन र सिद्धान्तमा केन्द्रित हुनुले पनि अर्हत् उपन्यास थेरवादमा आधारित उपन्यास हो भन्ने स्पष्ट हुन्छ।
कर्म हेतुको फलमा आधारित प्रतीत्यसमुत्पादको दृष्टि नै बुद्ध दर्शनको मूल सिद्धान्त हो भने शील, समाधि र प्रज्ञा नै बुद्ध दर्शनको मूल सार हो भन्ने सन्देश यस उपन्यासले प्रदान गरेको छ। श्रुतमयी प्रज्ञा, चिन्तनमयी प्रज्ञा र भावनामयी प्रज्ञाले पाकेपछि हरेक व्यक्ति अर्हत् बन्छ।
बुद्ध दर्शन श्रद्धासँग भन्दा पनि प्रज्ञासँग सम्बन्धित भएकाले बुद्ध को हो भन्दा पनि बुद्ध के हो भन्ने विषयमा गहिरिँदै गहिरिँदै जाँदा भेटिएको अन्तिम गन्तव्य हो अर्हत् । कर्म हेतुफल सिद्धान्त अनुसार प्रतीत्यसमुत्पाद चक्रबाट फुत्किने अन्तिम विकल्प हो अर्हत्। आदाहनोत्सवदेखि परिपूरणसम्म जम्मा ४९ परिच्छेदमा फैलिएको अर्हत् उपन्यासको पनि अन्तिम गन्तव्य हो अर्हत्।
उपन्यासको विश्लेषणात्मक पक्ष
मनका काम ,क्रोध ,क्लेशादि शत्रुहरू नास गरेर ज्ञानको उच्चतम ज्योतिर्मय अवस्थामा पुगेको चैतन्यले जागृत व्यक्ति नै अर्हत् बन्न सक्ने कुरालाई उपन्यासले विशेष जोड दिएको छ। मन ,मस्तिष्क र क्रोधलाई नियन्त्रण गरी इन्द्रीयहरूलाई वशमा राख्ने जो कोही पनि अर्हत् हुन सक्ने तर गोजीमा बीउ बोकेर बोट नउम्रिने सारलाई सङ्केत गरेको छ।
अर्हत् उपन्यासले एकै जन्ममा दुइटा जिन्दगी बाँचेका बुद्धको जीवनी र धर्माेपदेशलाई आख्यानीकरण गरी बुद्ध स्वयं कथावाचक बनेर समाजलाई उपदेशको उपयोग गरेर व्यवस्थित जीवन बाँच्ने सूत्र सिकाएको छ। बुद्धले झैँ सबैलाई घर छोड्न होइन, सोच्न बाध्य बनाएको छ।
कुशीनगरमा प्रकाशितात्मा गौतम बुद्धको महापरिनिर्वाण भयो भन्ने वाक्यबाट उपन्यास सुरु गरिनुले अनेकानेक अर्थ,सन्दर्भ र विम्बहरू एकैचोटी प्रकटित भएको छ। शून्यबोध र कर्मबोधको अज्ञानको कारण जन्म भइरहन्छ। जुनी फेरिरहनुपर्छ। दुःख भोगिरहनुपर्छ। अस्थायी सुखका पछाडि लागेर स्थायी वा परम सुख गुमाउनु हुँदैन।
प्रत्येक दुःखको भागीदार व्यक्ति स्वयं भएकाले दुःखबाट मुक्ति पाउन शून्यबोधको तहमा पुगेर हरेकले परिनिर्वाण हुनैपर्ने कुरालाई सङ्केत गरेको छ र सत्यको बोध नै बुद्ध हो भन्ने रहस्यलाई प्राथमिकताका साथ उठाएको छ।
सन् १९४६ का नोबेल पुरस्कार विजेता जर्मनी उपन्यासकार हर्मन हेस्सेको सिद्धार्थ उपन्यासमा भावानुवादक सुशील शर्माले भने झैँ खोज्नुको अर्थ निरन्तर दौड दौडिरहनु हो तर पाउनुको अर्थ सम्पूर्ण दौडको विसर्जन हो।
जन्मौँदेखि निरन्तर दौड दौडिरहेको अभ्यासले गर्दा दौडिने कलामा मानिसहरू पारङ्गत छन्,पोख्त छन् र दौडिरहेछन्। तर मूल समस्या भनेको दौडिने कलामा पोख्त हुनुभन्दा पनि दौड विसर्जन गर्नु हो। जबसम्म दौडलाई विसर्जन गर्ने कला जानिँदैन तबसम्म मानिसहरू सत्यानुभूतिबाट बञ्चित भइरहनेछन्। त्यस्तै परिनिर्वाण नहुन्जेल जीवन सधैँ दुःखमय भइरहने छ भन्ने कुरालाई स्मरण गराएको छ।
त्यस्तै अर्हत्भित्र उल्लेख नभएको एक रोचक किंवदन्तीलाई पनि निर्वाणको सन्दर्भले सम्झाइदिएको छ। जस्तो कि बुद्धका भक्त मगधराज विम्विसारलाई राजा उदयनले तीन पटकसम्म अनेकानेक अनमोल रत्नहरू उपहार दिएपछि यो भन्दा पनि राम्रो उपहार राजा उदयनलाई के दिन सकिएला भनी मगधराज विम्विसारले गौतम बुद्धसँग जिज्ञासा राख्दा बुद्धकै निर्देशन अनुसार विम्विसारले उदयनलाई भवचक्र अर्थात् यो संसारको चित्र उपहार दिँदा अत्यन्त उच्च मतिका उदयनले चित्र हेरेर नै निर्वाण लिएको घटनालाई पनि झल्झली सम्झाएको छ।
उपहार दिएको चित्रमा भित्री भागको कोठामा चरा, सर्प र सुँगुर राखिनुले क्रमशः तृष्णा, रिस र अज्ञानलाई सङ्केत गरेको छ। तलतिर जाने लोक कालो बाटो र मास्तिर जाने लोकको बाटो फरक देखाउँदै अनेक प्रतिकात्मक चिन्हहरूद्वारा कोठाहरू भरिएकोले अलिकति बुझ्ने मानिसलाई बेहोस पार्ने भवचक्रले परम शान्तिको लागि सबैलाई निर्वाणको मार्ग सम्झाइदिएको छ।
सिद्धार्थ सन्यासी बन्न लागेको कुरा थाहा पाउने पहिलो व्यक्ति सिद्धार्थकै सारथी छन्दक हुनु ,छन्दकले सिद्धार्थ सजिलै राजकाज त्यागेर सन्यासी बन्लान् भन्ने कल्पना नगर्नु , सिद्धार्थलाई घर फर्कन छन्दकले हदैसम्मको प्रयास गर्दा पनि प्रयास विफल भएपछि आफूसँगै जाने कुरा गर्नु, रामचन्द्र वनबास जान लाग्दा रामचन्द्रले भरतलाई रोकेजस्तै सिद्धार्थले छन्दकलाई यो नित्तान्त मेरो मात्र यात्रा हो फर्किन्छु छन्दक फर्किन्छु तर समग्र जगत्को दुःखको कारण पत्ता लगाएर फर्किन्छु भनेर बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि नै सन्यासी हुन लाग्दा भनेबाट आफ्नो चट्टानी दृढविश्वासले लक्ष्यको यात्रा कति सहज बनाइदिन्छ भन्ने कुरालाई सङ्केत गरेको छ।
सिद्धार्थ दरबार त्यागेर हिँड्न लाग्दा सिद्धार्थको पितारूपी मन र प्रव्रज्या सन्मुख मन बीच भीषण द्वन्द्व चल्नु, पिता मनले –जा एक पटक नवजात शिशु राहुललाई अङ्कमाल गर्। प्रेमले चुम्बन गर्। पिता हुनुको आभाष दिला। सन्तानमा प्रेमको वर्षा गर् भन्नु अर्काेतिर प्रव्रज्या सन्मुख मनले – हुँदैन सिद्धार्थ हुँदैन, विल्कुल त्यसो नगर्। तेरो लागि ठुलो दुर्भाग्य हुनेछ।
विलासी सुखभोगका यत्रा पर्खालहरू भत्काएर मानव जगत्लाई दुःखबाट मुक्त गराउने महाअभियान सामु एउटा शिशु अवरोध बन्नु हुँदैन। भत्काइदे मायाजालका बन्धन ,मुक्तिको सपना सार्थक पार्। आफ्नो मार्गमा लाग् भन्नु। अन्तमा प्रव्रज्या सन्मुख मनले जित्नुले दैनिक व्यवहारमा पनि हरेक व्यक्तिभित्र यस्ता भीषण मनोद्वन्द्व चलिरहने हुनाले सही समयमा सही निर्णय गर्न नसके मनोद्वन्द्वको भुँमरीमा परी परी जीवन सिद्धिने कुराको उद्घाटन गरेको छ।
गौतम बुद्धको महापरिनिर्वाणको खबर सुनेर विभिन्न देशबाट आएका राजप्रतिनिधिहरूले बुद्धको अस्थिधातु माथि आआफ्नो अधिकारको हकदाबी गरेपछि त्यसबाट उत्पन्न विवाद मिलाउन राजपरिवारका आचार्य द्रोणले आठै ठाउँमा स्तुपको निर्माण हुने सम्झी त्यहाँ उपस्थित आठै जना राजप्रतिनिधिहरूलाई आठ भाग लगाएर विभाजन गरिनुले सामान्य मानिसको सास गए लास तर बुद्ध जस्ता पवित्र आत्माको अस्थिधातु पनि परम पवित्र सम्झी कसरी खोसाखोस हुन सक्छ भन्ने देखाउँदै सबैलाई परम पवित्र काम र कल्याणका मार्गमा लाग्न विशेष जोड गरिएको छ।
अर्हत् उपन्यासले बुद्धकै दर्शनमा आधारित दुई अतिवादी विचार भोगवाद र योगवादबाट मध्यमार्गी बाटो अपनाएर जिउन सिकाएको छ। चार आर्य सत्यलाई कार्यान्वयन गर्न अष्टाङ्गिक मार्गको अवलम्वन गरी मानवजातिले सांसारिक दुःखबाट मुक्ति पाउने सन्देश प्रवाहित गरेको छ। संसारमा दुःख छ। दुःखको कारण छ। दुःखको निवारण छ। दुःख निवारणका उपाय छन्। दुःख त मानिसको छाया जस्तै हो। तृष्णा नै दुःखको कारण हो। समग्र इन्द्रियहरू तृष्णाका जननी हुन्। जगत्बाट प्राप्त एकैछिनको खुसी बासी खुसी हो। फेरि मानिस दुखी भइहाल्छ। यसले छोड्दैन। तृष्णालाई पूर्ण निरोध गरेर मात्र दुःखबाट मुक्ति पाउन सकिने कुरामा जोड दिएको छ।
उपन्यासमा बुद्धकालीन समाजको परिवेश, राज्य राज्यबीचको टकराव, कोशल राज्य र कपिलवस्तु राज्यको पतन देखाइएको छ। किस्ता किस्तामा आफ्नो अपमानको बदला लिन खोज्ने दासी पौत्रिकेय कोशलराज विड्डुभसँग बसेर खाना खानुभन्दा पोखरीमा डुबेर मर्ने तात्कालीन कपिलवस्तुका राजा महानाम शाक्यको जातीय अहङ्कारका कारण सिङ्गो शाक्य वंश र कपिलवस्तु राज्यको पतन हुनुले जातीय अहङ्कारको डढेलो कति डरलाग्दो हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ।
तीन स अर्थात् सत्ता, सम्पत्ति र स्त्रीको विषयलाई लिएर संसारमा झगडा हुनु , युद्ध मच्चिनु ,बुद्धकालीन परिवेशमा पनि सत्ताकै लागि मगधराज विम्विसारलाई आफ्नै छोरा अजातशत्रुले ,अजातशत्रुलाई आफ्नै छोरा उदयभद्रले, उदयभद्रलाई पुत्रद्वय अनुरुद्ध र मुण्डले, अनुरुद्ध र मुण्डलाई उसकै छोरा नागदासले हत्या गरेबाट पितृहत्या शृङ्खला चल्नु , पितृहत्याको दोष निवारण हुन नसक्नुले आजभोलि पनि सत्ता, सम्पत्ति र स्त्रीकै विषयमध्ये कुनै न कुनै निहुँमा हत्याको शृङ्खला चलिरहने यथार्थलाई प्रतिविम्वित गरेको छ।बुद्ध धर्म र भिक्षु संघको बढ्दो प्रसिद्धिले बेचैन भएर तीर्थङ्करले बुद्धको नैतिक पतन गराउन चिन्चा
माणविका एक पणसुन्दरीलाई प्रयोग गरे झैँ समाजमा आजभोलि कसैको नैतिक पतन गराउन एउटाका लागि अर्काे प्रयोग भइरहने वास्तविकतालाई चित्रण गरेको छ। मानिसको ओैँलाको माला लगाएर हिँड्ने राजपुरोहित भाग्गवको पुत्र अहिंसक पछि कुख्यात डाकु अङ्गुलिमालको क्रियाकलापले माओवादीको सशस्त्र द्वन्द्वको झल्को दिएको छ।
बुद्धले त्यतिबेला भिक्षु संघमा महिलाहरूको प्रवेश गराउनुले आजको समतामूलक समाज निर्माणका लागि पुरुष सरह महिलाहरूलाई पनि समान सहभागिता गराइनुपर्ने कुरालाई सङ्केत गर्नु र जति पुरानो भिक्षु भए पनि भिक्षु संघमा भर्खर प्रवेश गरेका भिक्षुलाई अत्यन्त आदर सत्कार गर्नुपर्ने नियम बनाइनुले आजको समाजमा कनिष्ठहरू भएकाले नै वरिष्ठहरूको महत्व बढेको कुरा बिर्सन नहुने कुरा आजको पिँढीलाई सचेत गराएको छ।
अर्हत् उपन्यासमा ठाउँ ठाउँमा विहारहरूको प्रसङ्ग आइरहनुले पछि अङ्ग्रेजहरूले नामाकरण गरिदिएको अहिलेको विहार प्रान्त नभई त्यतिबेलाका भिक्षु भिक्षुणीहरूको एकान्त आश्रयस्थललाई बुझ्नुपर्ने हुन्छ। ठाउँ ठाउँमा आएका विहारहरूको प्रसङ्गले अहिले भइरहेका विहारको उत्पत्तिको इतिहास र एउटा किंवदन्तीलाई पनि सम्झाइदिएको छ।
एकपटक अनाथपिण्डक नाम गरेका साहुले रुखमुनि बसिरहेका बुद्धलाई बुद्धले भने बमोजिमकै आश्रयस्थल बनाइदिने वचन दिएपछि अनाथपिण्डक जग्गाको खोजीमा निस्कँदै गर्दा श्रावस्तीमा जेत नाम गरेका राजकुमारको वन वा बगैँचामा पुगेर जग्गाको कुरा गर्दा राजकुमारले तिम्रो स्वर्ण मुद्राले जति जमिन ढाक्न सक्छ त्यति नै तिम्रो भयो भनेपछि बुद्धका लागि विहार बनाउन लागेको योजना सुनाउँदा राजकुमार जेत पनि हर्षित भएर दान स्वरूप त्यही जग्गामा अनाथपिण्डकलाई विहार बनाउन लगाउनुले त्यसको नाम नै जेतवन विहार रहेको, यहीँबाट विहारको प्रारम्भ भएको र श्रावस्तीको यही जेतवन विहारमा बुद्धले बाइस वर्षसम्म धर्मदेशना गरेको छ।
पछि विभिन्न राजाहरू ,मन्त्री , व्यापारी ,साहुहरूले ठाउँ ठाउँमा विहार बनाउँदै गएका र बुद्धले धर्माेपदेश गर्दै हिँडेको कुरालाई सम्झाइदिएको छ। संस्कृत भाषामा विहार, तिब्बतीमा गोन्पा र नेपालीमा गुम्बा भनेर चिनिने विहार कालान्तरमा उत्खनन गर्दा भिक्षु भिक्षुणीहरूको ठाउँ ठाउँमा प्रशस्त विहारहरू अवशेष भेटिएकाले अहिलेको भारतको एउटा प्रान्तको नाम नै विहार रहन गएको इतिहासलाई पनि सम्झाइदिएको छ।
प्रज्ञा र शीलले पूर्ण व्यक्ति नै भिक्षु संघको सर्वाेत्तम व्यक्ति हुने र उसैले संघको नेतृत्व गर्नेछ भनेर बुद्धले भिक्षु आनन्दलाई सम्झाएको प्रसङ्गले नेता धेरै तर नेतृत्व विहीन आजको अन्योलग्रस्त नेपाली राजनीतिक समाजलाई सचेत गराएको छ। बुद्धले अबको तीन महिना पछाडि मेरो कुशीनगरमा महापरिनिर्वाणको शुभ समय हुनेछ भनेर भिक्षु आनन्दलाई बताउँदै गर्दा भिक्षु आनन्द बुद्धको पाउ मुसार्दै रुन थालेपछि बुद्धले आनन्दलाई चर्मचक्षुको द्वार बन्द गरी आत्मिक द्वार खोल्न र यो दुःखमयी संसारमा आएपछि जानैपर्ने हुनाले यहाँ आउनै नपर्ने बाटो तय गर्न देखाइदिएको चार आर्यसत्यको सन्देशले सबैलाई सचेत ,सबैलाई सजग गराइदिएको छ।
महाराज शुद्धोधनको आज्ञा विपरीत सिद्धार्थको पढाइ दरबारभित्र नभई वन्यप्रान्तमा हुनुपर्ने कुरा गुरु सम्बमित्तले गरेपछि गुरुका अगाडि राजा पनि मौन बस्नु र बुद्धत्व प्राप्ति पछि भिक्षाटन र धर्मप्रचारको क्रममा आउँदा राहुलले बाबुसँग अंश माग्दा तपोधन माग्नु अनि भिक्षाटन र धर्मप्रचार प्रसारको क्रममा विभिन्न स्थानमा भेटेका विभिन्न पात्रहरू अङ्गुलिमाल ,नगरबधू ,प्रवोध, भद्दा लगायतलाई बुद्धले उपदेश दिनासाथ पश्चाताप गरी तत्कालै बुद्धको शरणमा गइहाल्नुले ज्ञानका अगाडि सत्ता र सम्पत्ति पनि फिका हुने एवं ज्ञानका अगाडि सबै चिज ओझेल पर्ने सङ्केत गरेको छ।
सर्व अर्थ सिद्ध सबै अर्थले सिद्ध हुने देखेर जन्मेको पाँचौँ दिनमा सर्वार्थ नाम राख्नु, कौडिन्य नामका ब्राम्हणले चक्रवर्ती सम्राट् होइन पछि पक्का सन्यासी हुने घोषणा गर्नु, राजाले सिद्धार्थमा वैराग्य नजागोस् भनी ऋतु अनुसारका तीनवटा छुट्टाछुट्टै राम,सुराम र सुभृत नामका आकर्षक दरबार बनाए पनि त्यसले मन तान्न नसक्नु, बृद्ध ,रोगी, सन्यासी र शव देखेर मनमा जिज्ञासा जाग्नु ,दरबारलाई अघोषित कारागार सम्झिनु, मध्यरातमा दरबार त्याग्नु,अनोमा नदीलाई साक्षी राखेर सन्यासी जीवन सुरु गर्नु, विभिन्न आश्रममा विभिन्न गुरुहरूसँग भेट्नु ,मनको संशय नमेटिनु ,अन्ततः अश्वत्थको रुखमुनि बसेर तपस्या गर्नु, बुद्धत्व प्राप्तिपछि अश्वत्थ रुख नै बोधिवृक्ष हुनु र उरुवेला बोधगयामा रुपान्तरित हुनुले यी कुराहरूबाट जिज्ञासा विनाको पढाइ, जिज्ञासा विनाको खोज र जिज्ञासा विनाको ज्ञान त दर्भिपाक रसं यथा अर्थात् डाडुले जतिसुकै खीर चलाए पनि डाडुलाई खीरको स्वाद थाहा नपाएजस्तै हुन्छ भन्ने बोध गराएको छ।
प्रत्येक व्यक्तिभित्र अन्तर्निहित रिसलाई साम्य पार्नका लागि एउटा रोचक प्रसङ्गबाट सबैको आँखा खोलिदिएको छ। जस्तो कि एकनाला गाउँका सम्भ्रान्त भारद्वाज ब्राम्हणले बुद्धलाई तथानाम गाली गर्दा पनि बुद्ध मुस्कुराएर मौन बसेको देख्दा ब्राम्हण अचम्मित भएर कति पनि उत्तेजित नहुनुको कारण सोध्दा बुद्धले दिएको जवाफ– अतिथि सत्कारका लागि बनाएका मीठा मीठा खानेकुराहरू तिम्रा घरमा आएका पाहुनाहरूले ग्रहण गरेनन् भने ती सबै चिजबिज तिम्रै भएजस्तै तिमीले दिएको गाली अपशब्दहरू मैले ग्रहण गरेकै छैन त्यसैले त्यो पुनः तिम्रै भइसक्यो। म किन रिस पोखूँ ? भन्ने उत्तरले भारद्वाज ब्राम्हण लज्जित भएको प्रसङ्गले रिसकै भोजन गरिरहने वर्तमान समाजका अनेकौँ भारद्वाज ब्राम्हणहरूको आँखा खोलिदिएको छ।
बुद्ध कुनै नाम नभई एउटा अवस्था हुनु, यिनका पिता शुद्धोधन शाक्यवंशका हुनु,सुरुको नाम सिद्धार्थ राखिनु,पछि गौतम बुद्ध बन्नु तर यहाँ गौतम कसरी रह्यो भन्ने जिज्ञासा जन्मिनु, स्वप्नदर्शनमा भनिए झैँ मायादेवीले सिद्धार्थ जन्मेको सातौँ दिनमा आफ्नो प्रतिकूल स्वास्थ्य देखेर अन्तिम क्षण सम्झी आफ्नी बहिनी प्रजावती गौतमीलाई बोलाएर अब समयले तिमीलाई ठुलो जिम्मेवारी सुम्पेको छ भन्दै आफ्नो मुटुको टुक्रा नवजात शिशु उनको काखमा सुम्पिनु र बिदा हुने बेलामा यसलाई मातृवात्सल्यको कमी नहोस् अनि ठुलो भएपछि सिद्धार्थ तिम्रै नामले परिचित होओस् र हुने छ पनि भन्ने आधारमा नै गौतम रहेको हो या गोत्रका आधारमा या राशीका आधारमा कि अन्य आधार र सम्भावना पनि छन् भन्ने कुरालाई बहसको विषय बनाइदिएको छ।
मनमा भ्रम र संशय रहुन्जेल अर्थात् संशयका लहराले जीवनरूपी वृक्षलाई बेरुन्जेल सत्यबोध नहुनु अर्थात् सम्यक् ज्ञानको दियो सल्किन नसक्ने र भ्रमको सिँढी सकिएपछि मात्र सत्यताको शान्त तलाउमा डुब्न सकिने वा सत्यालोकबाट आलोकित हुन सकिने सन्देश प्रवाहित गर्दै फराकिलो जीवनदर्शन प्रस्तुत गरेको
छ।
बुद्धको व्यापकता
रागादिबाट मुक्त ,प्रज्ञा, दया, करुणा र शक्तिले शतप्रतिशत जागृत पूर्ण चरम विकासात्मक अवस्था नै बुद्ध हो र सत्यको बोध नै बुद्ध हो भन्ने कुरालाई यस उपन्यासले प्रष्ट पारेको छ। बोधि प्राप्त गर्ने जो कोही पनि बुद्ध बन्न सक्छ र संसारको वास्तविक सत्य जे हो त्यही बताउने हुनाले बुद्धलाई तथागत नामले सम्बोधन गर्न सकिने कुरालाई उठान गरेको छ।
भिक्षु संघभित्रको संगतले शील, समाधि,प्रज्ञा उच्च तहमा पुग्ने हुनाले नै त्रिशरण अर्थात् संघम् शरणम् गच्छामि,बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि भनिएको कुरालाई उपन्यासमा संकेत गरिएको छ। दया करुणा जाग्दै गएपछि शील समाधिको बाटो हुँदै प्रज्ञाद्वारा शून्यबोधको चरम अवस्थामा पुगेपछि मानिस बुद्ध बन्ने कुरालाई पनि अर्हत्ले समेटेको छ। संसारमा दु :ख छ ,दुःखको कारण छ दुःख निवारण गर्न सकिन्छ ,दुःख निवारणका उपाय छन् भन्ने चार आर्य सत्यलाई संकेत गर्दै अष्टाङ्गिक मार्गको बाटोबाटै अर्हत् र बुद्ध बन्न सकिने कुरालाई प्राथमकिताका साथ उठाएको छ। अष्टाङ्गिक मार्गका तीन भाग यस प्रकार छन् :
ज्ञान – सम्यक् दृष्टि, सम्यक् सङ्कल्प।
शील– सम्यक् वाणी, सम्यक् कर्म,सम्यक् आजीविका।
समाधि– सम्यक् व्यायाम,सम्यक् स्मृति, सम्यक् समाधि।
उपन्यासमा पुरातन विषयभित्र नवीन सन्दर्भ
आजभन्दा झन्डै छब्बिस सय वर्ष अगाडिको ऐतिहासिक विषयवस्तुलाई समेट्दा गुरुग्रन्थबाट सन्दर्भ लिनुपर्ने र ठाउँ ठाउँमा बुद्धका बारेमा भएका यथासम्भव विषयवस्तु र किंवदन्तीहरूलाई पनि समेट्नुपर्ने हुँदा अर्हत् उपन्यासमा ठाउँ ठाउँका केही प्रसङ्ग जस्तो कि प्रसव वेदनाले छट्पटाइरहेकी मायादेवीको आजभन्दा झन्डै छब्बीस सय वर्ष अगाडि दरबारका वैद्यहरूले शल्यक्रिया गरेर सिद्धार्थ जन्मिएको प्रसङ्ग देखाइनुले भोलिका खोजकर्ता र अनुसन्धाताहरूलाई पनि मार्गप्रशस्त गरिदिएको छ।
पुरातन विषयभित्र नवीन सन्दर्भ उठाइदिएको छ। हुन त आजभन्दा पाँच हजार वर्ष पहिला भागवत् को छैटौँ अध्यायमा बताइएको कथा अनुसार राजा युवनासोले पुत्र प्राप्तिका लागि यज्ञ लगाउँदा मध्यरातमा ऋषि र अरू सबै सुतिसकेपछि प्यास लागेर पुंसवन मन्त्रद्वारा मन्त्रित कलशको जल राजाले पिउनु र भोलिपल्ट ऋषिले कलशको जल खै त भन्दा राजाले प्यास लागेर आफूले पिएको कुरा गरेपछि ल बर्बाद भयो, रानीले पिउनुपर्ने जल राजाले पिएकाले अब राजामा गर्भ रहेको कुरा बताउनु, पछि ऋषिहरूको छलफल पछि इन्द्रले अश्विनीकुमार वैद्य पठाएर राजाको पेट चिरेर बालक पैदा हुनु ,इन्द्रले पनि मानेकाले बालकको नाम मान्धाता रहनु,बालकलाई दुध खुवाउनका लागि इन्द्रले आफ्नो बुढी ओैँलो अमृतको घडामा चोबेर दुध चुसाउनु, आज पनि कुनै बच्चाले बुढी ओैँलो चुस्छ भने त्यो भाग्यमानी हुने किंवदन्ती चल्ने गरेको छ।
उपर्युक्त प्रसङ्गले तात्कालिक समयका वैद्यहरूको विज्ञानले आधुनिक विज्ञानको प्रयोगशालालाई चुनौती दिएको छ।
उपन्यासभित्र बुद्धको व्यावहारिक शिक्षा
दैनिक व्यवहारमा सदुपयोग गर्न सके बुद्धको शिक्षा अन्धकारको बत्ती र जीवन जिउने सूत्र हो भन्ने कुरालाई अर्हत्ले समेटेको छ। जस्तो कि मेरो पूजा नगर। आफैँ बत्ती बन। अरूको होइन ,आफ्नै शरणमा जाऊ। स्वर्ग र नर्क भनेको आफ्नै कर्मको प्रतिविम्ब हो। म मुक्तिदाता होइन, मार्गदाता हुँ । म जुन मार्गमा हिँडेको छु, त्यो बताउन सक्छु तर त्यो मार्गमा तिमी स्वयं हिँड्नुपर्छ।
यदि तपाईँ अरूको लागि दियो बाल्नुहुन्छ भने तपाईँको बाटो पनि उज्यालो हुन्छ। ज्ञान ध्यानबाट पैदा हुन्छ , ध्यानबिना ज्ञान हराउँछ। जसरी एक मैनबत्ती आगोबिना बाल्न सकिँदैन त्यस्तै आध्यात्मिक ज्ञानबिना बाँच्न सकिँदैन।
जन्म र मृत्यु सूर्य उदाउनुु र अस्ताउनु जस्तै हो। मृत्यु डर होइन ,जिउन जाने अमरता, जिउन नजाने कायरताको नाम हो। हाम्रो बाटो आकाशतिर होइन, हृदयतिर हुनुपर्छ जस्ता बुद्ध वाणीहरू प्रस्तुत गर्दै बुद्धका शिक्षामार्फत् अर्हत् उपन्यासले व्यावहारिक जीवन बाँच्न सिकाएको छ।
उपन्यासको ऋणात्मक पक्ष
अत्यधिक अप्रचलित तत्सम शब्द र बौद्ध दर्शनका प्राविधिक शब्दहरूको प्रयोगले कतै कतै ओखर र जटा नरिवल झैँ फुटाउन सकस पर्नु तर फुटाएपछि ओखरको गुदी र जटा नरिवलको पानी र नरिवलको सेवनले पाठक तृप्त हुने हुनाले अर्हत्ले जाँगरिला पाठकको अपेक्षा गरेको छ।
ठाउँ ठाउँमा चलनचल्तीकै तत्सम शब्दले चल्ने ठाउँमा पनि जबर्जस्ती अप्रचलित तत्सम शब्दको प्रयोग हुनु फेरि त्यही शब्द ठाउँ ठाउँमा पटक पटक दोहोरिरहनुले पाठकले नजानिकन धरै नपाउने गरी न निल्नु न ओकल्नुको अवस्था बनाइदिएको छ।
बुद्धले आत्मलाई नस्वीकार्ने तर निर्वाण प्राप्त नगरे पुनर्जन्मको चक्रमा फसिरहनुपर्छ पनि भन्दै गर्दा पुनर्जन्म कसरी हुन्छ ? मान्छेको पछिल्लो जन्मको अस्तित्व कसरी कायम हुन्छ भन्ने जस्ता कुरामा अर्हत् मौन हुनु र अर्हत् उपन्यासमा ठाउँ ठाउँका अनेक पात्रहरूलाई बुद्धले उपदेश दिँदा दिँदै पनि प्रज्ञा, शील र समाधिको विषयमा हुनुपर्ने जति विस्तृत चर्चा नहुनुले यतापट्टि लेखकको ध्यान नपुगेको भन्दा पनि यतातिरको चर्चामा बहकिँदा अर्हत् भाग दुई, तीन निकाल्नु पर्ने डरले लेखक फुत्किन खोजेको आभास दिलाइदिएको छ।
उपसंहार
संयुक्तनिकाय सूत्रमा बताएको सब्बो प्रकम्पितो लोको सब्बो लोको प्रकम्पितो अर्थात् सबै प्रकम्पनमा लोक छ, सबै लोकमा प्रकम्पन छ भने झैं सजिलै कोही पनि यो लोकबाट फुत्केर जान सक्दैन। जसरी एउटा बोतलभित्र छिरेको भँवरो जति घुमे पनि बोतलभित्रै भएजस्तो, बिर्काे नखोली स्वतन्त्र रूपले आकाशमा विचरण गर्न नसकेजस्तो जन्मचक्रको दुःखको बोतलबाट बाहिर निकाल्ने अन्तिम बिर्काे भनेकै निर्वाण हो भन्ने सारलाई यस उपन्यासले खिचेको छ।
अर्हत् उपन्यासमा बुद्ध स्वयं कथावाचक बन्नुको मतलब म पनि यही मनुष्यलोकमा आएर निर्वाण प्राप्त गरेको हो भनेर संसारलाई सूचना टाँसेर जानु हो। यदि सूचनाको उलङ्घन गरिएमा कुनै देवतालाई पुकारेर वा कसैलाई गुहारेर हुँदैन। त्ससको सजाय भोग्नैपर्छ। जस्तो परीक्षा त्यस्तै परिणाम। जस्तो कर्म त्यस्तै फल। यही नै प्रकृतिको नियम हो भन्ने कुरालाई पनि सम्झाइदिएको छ।
हिलोको दलदलमै कमलको फूल फुल्छ तर कमलको फूलमा एक छिटो पनि हिलो लागेको हुँदैन। दुःखको हिलोमै जन्मेर परम सुखको फूल फुलाउन सकिन्छ। धर्मकर्म गर्नका लागि सबैभन्दा उत्तम लोक नै मनुष्यलोक हो।
मनुष्यलोक नै सर्वश्रेष्ठ लोक हो र मनुष्य जीवन नै अनमोल जीवन हो भनेर सचेत गराएको छ।
अर्हत् प्राप्त नगरी ,निर्वाण प्राप्त नगरी दुःखबाट छुट्कारा नमिल्ने ,परम शान्ति र स्थायी सुख नमिल्ने कुरालाई नै अर्हत् उपन्यासले लाक्षणिक रुपमा प्रस्तुत गरेको छ। अर्हत् उपन्यास बौद्ध साहित्यका लागि एउटा कोशेढुङ्गा नै हो भन्न त मिल्दैन तर बौद्ध साहित्यका पाठकहरूका लागि थपिएको एउटा सशक्त अभ्यास चाहिँ पक्कै हो।
समग्रमा अर्हत् उपन्यास अन्तर्आत्मामा प्रकाशित जाज्वल्यमान ज्ञानको ज्योतिर्मय यात्राको प्रतिफल हो। लेखकलाई शुभकामना।
तपाईंको ईमेल गोप्य राखिनेछ ।