|

हेटौंडा : शनिबारबाट मकवानपुर बहुमुखी क्याम्पसले अन्ताराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। स्थानीयस्तरमा दिगो विकासका लक्ष्यलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ।

मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यावहारिक र उपयोगी बनाउने प्रयास गरिरहेको आयोजकको दावी छ। सम्मेलनको अघिल्लो दिन हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो। यसअघि दुईपटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यो क्याम्पसले शनिबारदेखि अन्ताराष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्न लागेको हो।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सम्मेलनमा करिब एक सयभन्दा बढी प्रतिनिधि सहभागी हुने क्याम्पस प्रमुख डा.यमबहादुर सिलवालले जानकारी दिए। उनका अनुसार सम्मेलन सोमबारसम्म चल्नेछ। जसमा देश विदेशबाट र भर्चुअल सहभागी गरेर तीन सयजना विज्ञ र प्रतिनिधिहरुको सहभागिता रहने उनले बताए।

‘दिगो विकासको लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो। सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले गर्नेछन्। कार्यक्रम हेटौंडाको एभोकाडो होटलमा हुनेछ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्ताराष्ट्रिय अनुसन्धानकर्ताहरूको प्रस्तुति र अनुसन्धानात्मक जर्नल प्रकाशन रहने समेत हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.