|

काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने भएको छ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गत रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखालाई टुक्र्याएर छुट्टै शाखा बनाइने भएको हो।

अहिलेसम्म इडिसिडी अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा समेत गरी कुल ६ वटा शाखा छन्।

यो महाशाखामा अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा सहित ट्रपिकल डिजिज‚ भेक्टर वर्न डिजिज शाखा, जुनोटिक र अन्य सरुवा रोग नियन्त्रण शाखा, इपिडिमियोलोजी र प्रकोप व्यवस्थापन शाखा र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा रहेका छन्। अब यसलाई टुक्र्याएर छुट्टै महाशाखा बनाउन लागिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने‚ ‘मानसिक स्वास्थ्य समस्या बढ्दै जान थालेको छ। त्यसैले यसको न्यूनीकरणका लागि छुट्टै शाखा आवश्यक देखियो। अब यससम्बन्धी छुट्टै शाखा बनाउने निर्णय भएको हो। छिट्टै यो काम हुन्छ। मानसिक स्वास्थ्य र नसर्ने रोग सम्बन्धी छुट्टै महाशाखा हुन्छ अब।’

केही समयअघि स्वास्थ्य तथा अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले नेपालमा ४.३ प्रतिशत वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको थियो।

सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको थियो। यस्तै राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ नेपालमा  करिब ११ लाख जनसंख्यामा सामान्यदेखि जटिल प्रकारका मानसिक स्वास्थ्य समस्या रहेको देखाएको थियो।

विश्व स्वास्थ्य संगठनले जून २०२२ मा प्रकाशित गरेको तथ्यांकअनुसार विश्वमा हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको उल्लेख छ।

विश्व स्वास्थ्य संगठनका अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिसकेको हुन्छ। १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ। ७५ प्रतिशत जस्तो आत्महत्याका घटना निम्न तथा मध्यम आयस्तर भएका देशमा हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.