धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायित्वका प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य रहेको बताएका छन्। किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटनका लागि धरान पुगेका उनले त्यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको उल्लेख गर्दै यो प्रणाली परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन गर्नुपर्ने धारणा राखे। जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी र समाजवादतर्फ उन्मुख बनाउने अभियानमा माओवादी रहेकाले त्यसमा साथ दिन आह्वान पनि गरे।
अब माओवादी आफ्नो वर्गसँग सम्बन्ध सुधार्ने अभियानमा रहेको पनि अध्यक्ष प्रचण्डले बताए। ‘शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौं भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको छ’, उनले भने, ‘अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौं।’
सरकारको नेतृत्वमा रहँदा माओवादीले देश र जनताको पक्षमा काम गर्ने कोसिस गरेको बताउँदै प्रचण्डले समावेशी पूर्वाधार विकास अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गरे। त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको दाबी उनले गरे।
तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘छानबिन गर्दा म विरुद्ध पनि अनुसन्धानको सुई देखा परेको खण्डमा नछोड्नू भनेर अनुसन्धानमा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ। भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा मैले आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचारविरुद्ध निर्मम अभियान अघि बढाएको थिएँ।’
उनले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटरव्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको बताए। दलाल र पुँजीपति समूहले जनताको पक्षमा काम गरिरहेको आफू नेतृत्वको सरकार हटाएर भ्रष्ट र बिचौलिया पक्षमा काम गर्ने सरकार बनाएको टिप्पणी पनि उनले दोहोर्याए।
पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।