|
तस्वीर : रूपेन्द्र पटेल

रौतहट : बढ्दो तापक्रमका कारण रौतहटमा जनजीवन अस्तव्यस्त बनेको छ। चर्को घाम र तातो हावाले रौतहटमा जनजीवन कष्टकर बनेको हो।

वैशाखको अन्तिम सातादेखि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेसँगै तराईवासीको दैनिकी अस्तव्यस्त बन्न थालेका छन्।

विशेषगरी बिहान सबेरैदेखि सुरु हुने गर्मीले ज्याला मजदुरी तथा खेतीपाती गर्ने वर्ग बढी प्रभावित बनेका हुन्। गर्मीका कारण सडकमा बेहोस हुने, लु लाग्ने, तथा मुर्छा परेका घटना बढ्न थालेका छन्। गर्मीको प्रभाव सरकारी कामकाज र व्यावसायिक गतिविधिमा समेत देखिएको छ।

गौर, गरुडा, कटहरिया र चन्द्रपुरजस्ता मुख्य बजार क्षेत्र सुनसान देखिन्छन्। गौर नगरपालिकाका अनुसार अत्यावश्यक कामबाहेक अधिकांश नागरिक घरभित्रै सीमित हुन थालेका छन्। सरकारी कार्यालयमा समेत सेवाग्राहीको उपस्थिति न्यून बनेको छ।

स्थानीय व्यापारीहरू पनि चर्को गर्मीका कारण व्यापार घटेको बताउँछन्। ‘मूल बजारमा ग्राहकको चहलपहल कम भएपछि दैनिक कारोबार घटेको छ’, चन्द्रपुरका स्थानीय व्यापारी सुवास न्यौपानेले गुनासो गरे।

गर्मीका कारण स्वास्थ्य समस्या पनि तीव्र रूपमा बढेका छन्। चन्द्रपुर अस्पतालका प्रमुख डा. सुभाष चौधरीका अनुसार पछिल्लो केही दिनदेखि झाडापखाला, टाइफाइड ज्वरो, पेटको संक्रमणका बिरामी उल्लेख्य बढेका छन्। ‘दैनिक ३० देखि ४० जना नयाँ विरामी आउँछन्’, डा. चौधरीले भने।

जिल्ला डाक्टरहरूले गर्मीबाट बच्न घरभित्रै बस्न, प्रशस्त झोलपदार्थ सेवन गर्न, सफा खाना खान, तथा घाममा ननिस्कन सुझाव दिएका छन्। सडेगलेका तथा विषादी प्रयोग भएको खाना सेवन नगर्न र खानु अघि हातगोडा साबुनपानीले सफा गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.