|

गौर : पूर्व ऊर्जा राज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता सत्यनारायण भगत बीनले करिब आठ वर्षअघि मन्त्री पदबाट हटिसकेपछि पनि ‘ऊर्जा राज्यमन्त्री’को हैसियतमा सरकारी लेटरप्याड प्रयोग गरेको खुलासा भएपछि तीव्र आलोचना भइरहेको छ।

२०७३ साल साउन ३० गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भई २०७४ साल जेठ १७ गतेसम्म कार्यरत रहेका भगत बीनले हालै मधेश प्रदेश सरकारअन्तर्गतको अर्थ मन्त्रालयलाई पठाएको पत्रमा ‘ऊर्जा राज्यमन्त्री’ उल्लेख गर्दै विभिन्न योजना सिफारिस गरेका छन्।

२०८२ साल वैशाख ३१ गते लेखिएको उक्त पत्रमा उनले रौतहट जिल्लाका विभिन्न पालिकामा पर्ने आठवटा पूर्वाधार योजनालाई प्राथमिकताका साथ समावेश गर्न अनुरोध गरेका छन्।

पत्रमा समावेश योजनाहरूमा माधवनारायण नगरपालिका–६ वडाबाट बागमती बाँधसम्मको सडक ढलान, माधोपुर पेनी पुलदेखि मानपुरसम्मको सडक, गरुडा नगरपालिका–५ महम्मदपुर गेडहीस्थित निर्माणाधीन गढीमाई मन्दिर, गढीमाई नगरपालिका सुन्दरपुर–अथिअउल सडक, माधवनारायण नगरपालिका–४ झाझ खोला हुँदै जयनगर पुल सडक, मानपुर डमार हुँदै गेडही पुल सडक, रजबडा–गढोल–लौकाहा सडक तथा लोकाहा–माधोपुर सडक निर्माण कार्यहरू समावेश छन्, जसका लागि प्रत्येक योजनामा रु. ४५ लाखको माग गरिएको छ।

पत्रको शीर्षकमै ‘ऊर्जा राज्यमन्त्री’ उल्लेख गरिएको देखिएपछि सामाजिक सञ्जालमा यति वेला उनको तीव्र आलोचना भइरहेको छ।

भगत बीनले पूर्व छुटेको बताउँदै घटनालाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन्। उनले भने, ‘लेटरप्याड लेख्दा 'पूर्व' राख्नुपर्ने ठाउँमा छुट भयो, कृपया यसलाई गम्भीर नबनाइदिनुहोस्।’

कानुनविद्हरूका अनुसार पदावधि समाप्त भइसकेपछि समेत सरकारी लेटरप्याडमा पुरानै पदको प्रयोग गर्नु मुलुकी अपराध संहिता, २०७४ अनुसार दुरुपयोगमा पर्छ र सोही अनुसार दण्डनीय पनि हुन सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.