|

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ।

गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो। गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाका आठ वटै वडाका सुत्केरीहरूलाई झन्डै ९० हजार रुपैयाँ सहयोग गरिएको बताइन्।
‘जो भए पनि सुत्केरी तथा महिलाको स्वास्थ्यमा गम्भीर भएकै हुनुपर्छ। त्यसमा पनि म त महिला नै अध्यक्ष छु। सुत्केरी बेलामा पौष्टिक तत्त्व पुगेन भने त्यसले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था बिग्रिन्छ’, उनले भनिन्, ‘यो रकम धेरै त होइन। तर गाउँपालिकाले सुत्केरी आमाहरूले आफ्नो पौष्टिक आपूर्तिमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम महत्त्वपूर्ण छ।’

यो सुविधा प्राप्त गर्नका लागि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको हुनुपर्ने, निर्धारित मापदण्ड अनुसार नै नियमित गर्भ परीक्षण गरिएको हुनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक उमेश कुमार अधिकारीले आर्थिक वर्ष २०७६÷०७७ बाटै यो कार्यक्रममा सञ्चालनमा रहेको बताउँदै हालसम्म एक सय ७० जना भन्दा बढी सुत्केरीहरू यो कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिए।

यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको नवजात शिशु र सुत्केरीको स्वास्थ्य राम्रो बनाउन पोषण उपलब्ध गराउनु र घरमा नै सुत्केरी हुनबाट रोकेर स्वास्थ्य संस्थामा सुत्केरी हुनु, समय समयमा बच्चाको अवस्थाका बारेमा थाहा पाउन गर्भ परीक्षण गराउनु रहेको उनको भनाइ छ।

सुरुमा ‘सुत्केरीसँग उपाध्यक्ष’ भनेर यो कार्यक्रम चलाएको भए पनि पछिल्लो कार्यकालमा गाउँपालिकाको अध्यक्षमा महिला निर्वाचित भए पनि कार्यविधि फेरिएको छ। हिरादेवी शर्मा महिला अध्यक्षको रूपमा आएपछि पुरानो कार्यविधि खारेज गर्दै कार्यक्रमलाई ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रम सुरु गरिएको हो।
यो कार्यक्रमबाट सुत्केरीले प्राप्त गरेको रकमबाट यही नै खाद्य वस्तु खरिद गरेको हुनुपर्छ भन्ने तोकिएको छैन। सुत्केरीहरूले आफ्नो आवश्यकताका आधारमा पोषणयुक्त खानेकुरा किन्न सकिने प्रावधान राखिएको छ। आर्थिक रूपमा सामान्य परिवारले पोषणको अभाव झेल्नु नपरे पनि आर्थिक रूपमा समस्यामा रहेका सुत्केरीहरूका लागि यो कार्यक्रम आवश्यक बनेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले गत वैशाखको पहिलो सातामा मोदी गाउँपालिकामा आयोजना गरेको पोषण लेखाजोखा तथा स्क्रिनिङ कार्यक्रममा स्वास्थ्य परीक्षण गरिएका धेरै बालबालिकाहरूमा पोषणको अभाव भएको पाइएको थियो। पाँच वर्ष मुनिका कुल एक सय ७८ जना बालबालिकाहरूको पोषणको अवस्थाको बारेमा स्क्रिनिङ गर्दा १० जना बालबालिकाहरूमा कडा खालको कुपोषण तथा ४१ जनामा मध्यम खालको कुपोषण रहेको पाइएको थियो।

कडा रूपमा कुपोषित बालबालिकाहरूलाई प्रदेश अस्पताल पर्वतमा रहेको पोषण पुनस्थापना केन्द्र र मध्यम कुपोषितहरूलाई ओ.टि.सी (आउट प्यासेन्ट थेराप्युटिक सेन्टर) मा रहेर पोषणमा ध्यान दिनुपर्ने गरी सुझाव दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.