काठमाडौँ : सर्वोच्च अदालतमा सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस जारी छ।
अहिले निवेदकका कानुन व्यवसायीहरूले बहस गरिरहेका सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए। अहिलेसम्म रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन्।
रविसँगै सहकारी ठगीका आरोपी पूर्वडीआइजी छविलाल जोशीको पनि सुनुवाइ भइरहेको जनाइएको छ।
६ पटकसम्म हेर्न नमिल्नेमा परेको रविको बन्दी प्रत्यक्षीकरणको रिटमा मंगलवार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यसविरुद्ध रविकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।