|

पर्वत : महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका वेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको हो। 

नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए। सरकारले गुरुङ भाषालाई कामकाजको भाषाको रूपमा प्रयोमा ल्याउने तयारी गरेको अवस्थामा महाशिलाले चालु आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम गुरुङ भाषा र लिपीमा सार्वजनिक गर्ने निर्णय गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नीति तथा कार्यक्रम स्थानीय भाषामा सार्वजनिक गर्ने महाशिला गाउँपालिका पहिलो तह बनेको जानकारी दिए।  

गाउँपालिकाले नेपाली भाषामा नीति तथा कार्यक्रम गत वर्ष सार्वजनिक गरेको थियो। सोही नीति तथा कार्यक्रमलाई अहिले गुरुङ भाषामा प्रकाशन गरिएको हो। गुरुङ भाषाभित्र खिमा लिपीमा नीति तथा कार्यक्रमलाई लिपीबद्ध गरिएको उहाँले बताउनुभयो। महाशिलाले यसअघि नेपाली भाषामा आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, स्वास्थ्य, सामाजिक न्याय, खानेपानी, भौतिक पूर्वाधार, विपत् तथा वातावरण, संस्थागत सेवाप्रवाह र सुशासन क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम ल्याएको थियो।

यसैगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, खेलकुद तथा मनोरञ्जन, संस्कृति, प्रदेश सरकारसँग सहकार्यलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका थिए। तीनै प्राथमिकताका क्षेत्रलाई अहिले गुरुङ भाषाको खिमा लिपीमा उल्था गरी प्रकाशन गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए। उनले आगामी वर्षदेखि दुवै भाषामा एकैसाथ सार्वजनिक गरिने बताए। 

महाशिलाकाका ६ वटै वडामा गुरुङ समुदायको बसोबास रहेको छ। गण्डकी सरकारले सरकारी कामकाजको भाषाका रूपमा गुरुङ र मगर भाषालाई समेट्न विधेयक ल्याउनुअघि गुरुङ र मगर बाहुल्य जिल्लामा पुगी सरोकारवालासँग सुझाव सङ्कलन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.