|

काठमाडौँ : पछिल्लो समय काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वडाध्यक्षहरू एक भएर मिल्दा प्रमुख बालेन साह एक्लिएका छन्। उपप्रमुख सुनितासहित वडाध्यक्षहरूले साहलाई साथ दिएका छैनन्।

महानगरका प्रमुख साहले पनि आफ्नो अडानले पाँच महिनादेखि ‘कार्यपालिका बैठक’ नै बोलाएका छैनन्। २०८१ पुस १४ पुस गते १६औं नगरसभा बैठक बस्नुअगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म कार्यपालिका बस्न सकेको छैन।

त्यसअगाडि महानगरपालिकामा हरेक महिना एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्नेछ’ भन्ने उल्लेख छ। कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ।

तर लामो समयसम्म पनि प्रमुख साहले बैठक नबोलाएपछि महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्षले गत चैत १० गते कार्यपालिकाको बैठक माग गर्दै प्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रमुख साह र उपप्रमुख डंगोलको लय नमिल्दाको प्रत्यक्ष असर भने महानगरको प्रशासनिक, नीतिगत निर्णय, कार्यपालिका बैठक लगायत कार्यमा परेको छ। प्रमुख साह, उपप्रमुख​ डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकै आन्तरिक द्वन्द्वका कारण आव २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट पनि अन्योलमा परेको देखिन्छ। हालका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई मान्ने पक्षमा बालेन छैनन्।

यी सबै समस्या आउनुको प्रमुख जड भने काठमाडौँ भ्यूटावर विवाद हो। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।

तर उनलाई पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता गुरागाईं निलम्बनमा परे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले त्रुटिपूर्ण कार्य गरेको दाबीसहित ठाडै अस्वीकार गरे।

सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा र बालेनले गुरागाईंलाई जिम्मेवारी नदिँदा करिब पाँच महिनासम्म तलब कर्मचारी शिक्षकहरूले पाएनन्।

त्यसपछि प्रमुख बालेनविरुद्ध उपप्रमुख डंगोल आक्रामक बन्दै गइन्। त्यतिमात्रै होइन चैत २० गते वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराए।

उपप्रमुख डंगोलले गुरागाईंलाई स्वागत गरिन्। गुरागाईंलाई कार्यालयमा छिराएपछि सुनिताले आक्रोशित हुँदै भनिन्, ‘फेरि त्यो भिडन्त बनाउने कि नबनाउने?, भिडन्त नगर्ने भए व्यवस्थापन त गर्नुपर्‍यो। यसको व्यवस्थापनका लागि उपप्रमुखको हिसाबले निर्देशन दिइसकेँ, मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन मात्र पाइँदैन।’

उपप्रमुख सुनिता डंगोल यतिमा मात्रै रोकिइनन्। वैशाख ११ गते नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेशनमा बालेन लक्षित ‘स्टन्ट गरेर देश बन्दैन’ भनिन्। उनले औँला उठाउँदै भनिन्,‘स्टन्ट गरेर देश बन्दैन,स्टन्ट गरेर देश बन्छ? देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, इमान्दारी चाहिन्छ।’

उक्त भाषणपछि सुनिता डंगोल आलोचित भएकी छिन्। सामाजिक सञ्जालमा तिनै भिडियो सेयर गर्दै अहिले पनि डंगोलविरुद्ध आक्रोश पोख्दै उनलाई गाली गरेका छन्। त्यसपछि झनै हालसम्म पनि प्रमुख साह, उपप्रमुख सुनिता र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच नै समझदारी र समन्वय छैन। 

राजुनाथ पाण्डेलाई ७ बुँदे स्पष्टीकरण​

यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कार्यालय छिरेको एक महिनापछि हिजाे (मंगलबार) महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। यसले झन महानगरमा तरंग पैदा गरेको छ।

उक्त सोधिएको स्पष्टीकरणपत्रमा पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउने वेला पटक–पटक अनुरोध गर्दा समेत ताला खोल्ने काममा असहयोग गरेको आरोप छ। स्पष्टीकरणपत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधनमा किन ह्वील लक गरेको ?, नगर प्रहरीबल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? भनिएकाे छ। 

त्यस्तै स्पष्टीकरणपत्रमा पाण्डेले जनप्रतिनिधिको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको?, प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ? लगायत विषयमा प्रश्न उठाइँदै स्पष्टीकरण सोधिएको छ। चित्तबुझ्दो स्पष्टीकरण नआएमा हटाउने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको तयारी छ।

उपप्रमुख सुनिता डंगोलले नै पाण्डेलाई हटाउनकै लागि गुरागाईंलाई स्पष्टीकरण साेध्न लगाइएकाे चर्चा छ। २०८० असोजमा बसेको कार्यपालिका बैठकले नगरप्रहरी प्रमुख पाण्डेलाई एसएसपीमा बढुवा गरेको थियो। त्यसअघि उनी नगर प्रहरी उपरीक्षक (एसपी) मा थिए। बालेनको प्रायः काममा पाण्डेले साथ दिँदै आएका छन्। त्यसाे त पाण्डे स्वतन्त्र जनप्रतिनिधि बालेनकै निकट मानिन्छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा कामपा नगरप्रहरी प्रमुख पाण्डे बोल्न चाहेनन्। पाण्डेसहितको प्रहरी टोलीले कार्यालय फोड्नबाट राेक्न खाेजेका थिए तैपनि उपप्रमुख डंगोलसहितको उपस्थितिमा कार्यालय फोडेरै गुरागाईंलाई छिराइएको थियो।

त्यसपछि पाण्डेले भनेका थिए, ‘कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो, सुरक्षासम्बन्धी विषय भएमा कसैलाई पनि आउन दिदैनाैँ, जुनसुकै पदाधिकारी पनि राेक्छाैँ, यो तामझाम गरेर ठिक भएन।’

यसकारण बालेनको आलोचना

बालेन पक्षधरले उनको तारिफसँगै समर्थन गर्दै आएका छन्। उनका कतिपय कुरामा आलोचना हुने गरेको छ। बालेन स्वतन्त्र भएकै र उनको छुट्टै शैलीका कारण बढी राजनीतिक दल र कार्यकर्ताले आलोचना गर्ने गर्छन्। बालेन सार्वजनिक कार्यक्रममा प्रायः देखिँदैनन्। बोलाउँदा पनि जाँदैनन्।

त्यसो त गणतन्त्र दिवस मूल समारोह समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा बालेन नगएपछि नाम हटाउन निर्देशन दिए। सञ्चारमाध्यममा पनि बोल्दैनन्। प्रायः उनले आफ्ना कुरा फेसबुकमा मात्रै स्टाटस लेख्ने गर्छन्। उनले महानगरको अनलाइनमा आएको बाहेक अन्य सञ्चारमाध्यममा आएका कुराको विश्वास नगर्नु पनि भनेका छन्।

उनी सरकारसँग समन्वय गर्न मान्दैनन्। उनले थालेका कतिपय काम पूरा गर्न सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौँ महानगरमा रहेको देखाएको छ।

वडाध्यक्षहरू भन्छन् : मूल नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्छ

हालसम्म पनि प्रमुख साहले कार्यपालिका बैठक नबोलाएपछि वडाध्यक्षहरूले आक्रोश पोख्दै मूल नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्ने बताएका छन्। महानगरपालिकाका प्रवक्ता मानन्धरका अनुसार प्रमुख शाह कार्यालय आइरहे पनि पहिलाजस्ताे भेटघाट र बोलचाल हुँदैन।

पाँच महिना बित्नै लाग्दा पनि प्रमुखले बैठक समेत नबोलाएको महानगरपालिका वडा-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए। ‘उहाँले कार्यपालिका बैठक बोलाउनु भएको छैन, चासो पनि राख्नु भएको छैन’, उनले भने, ‘नीति तथा कार्यक्रम, बजेट ल्याउने वेला भइसक्यो तैपनि उहाँको यसप्रति चासो चिन्तै छैन। यसरी हुँदैन उहाँ यहाँको मूल नेतृत्वकर्ता हो, नेतृत्वमा बसेपछि जिम्मेवार बन्नुपर्छ।’

वडाध्यक्षहरूले बालेनलाई साथ सहयोग भने गर्दै आएको तर्क गरे। उनले भने, ‘पक्ष र विपक्ष भन्ने नै छैन, किनभने हामी जनताबाट जितेर आएका हौँ, जनताको सेवा गर्नुपर्छ, हामी प्रमुखज्यूलाई साथ सहयोग दिइरहेका छौँ, सहकार्य गर्न खोजिरहेका छौँ। यदि हाम्रो केही कमीकमजोरी भए सच्चिन्छौँ, सघाउँछौँ तर यस्तो तरिकाले चाहिँ हुँदैन’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.