जनकपुरधाम : धनुषामा श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
हत्याको करिब दुई महिनापछि प्रहरीले धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका–५ बनिनियाँका ४० वर्षीय हरिराम यादवलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
हरिरामले गत चैत १७ गते दिउँसो २५ वर्षीया श्रीमती अञ्जली यादवको हत्या गरेर खाल्डो खनेर शव गाडेर माथिबाट ढलान गरेका थिए।
धनुषा प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार भारतमा मजदुरी गर्दै आएका हरिरामको श्रीमतीसँग झगडा हुँदै आएकोमा घटनाको दिन कुटपिट गरी हत्या गरेर शव गाडेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको अनुसन्धान टोलीले ताल्चा तोडेर घरभित्र हेर्दा नयाँ ढलान देखेपछि उक्त स्थानमा खन्दा करिब २ फिटमुनि शव फेला पारेको थियो।
प्रहरीले हरिरामलाई बिहीबार बिहान करिब ९ बजे सीमावर्ती क्षेत्र धनुषाको जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए।
रेग्मीका अनुसार हरिराम श्रीमतीको हत्यापश्चात् १० महिने छोरीलाई लिएर भागेका थिए। छोरीको अवस्था भने अज्ञात रहेको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।